समाज

चितवनका एक हजार सात सय जनामा डेंगी संक्रमण

इकागज |
असार १६, २०८१ आइतबार २०:३९ बजे

चितवन- चितवनमा एक हजार सात सय ७१ जनामा डेंगी संक्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेंगी संक्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगीको संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगी संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगी संक्रमण देखिएको केसीले जानकारी दिए ।  


यस्तै, ठेगाना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेंगी संक्रमण देखिएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताए । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगी देखिएको छ । खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगी संक्रमण देखिएको छ । 

डेंगी रोग संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी संक्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिए ।


Author

थप समाचार
x