समाज

हेलम्बुबासीको पीडा : 'हिजो बाढी पहिरोबाट बाँच्‍न पाए हुन्थ्यो भन्‍ने लाग्थ्यो तर आज मर्न पाए हुन्थ्यो जस्तो लाग्छ' (भिडियो)

इकागज |
असार ७, २०७८ सोमबार ९:२६ बजे

काठमाडौँ : सिन्धुपाल्‍चोक हेलम्बु-१ तिम्बुकी आशा गुरुङ यति सरकार र संघसंस्थासँग हारगुहार गरिरहेकी छन् । असार १ गतेको बाढी मेलम्ची र हेलम्बुमा बाढी पहिरोले विस्थापित भएपछि तिम्बुका ११ घरधुरीको सडकमा बास छ । बस्‍नलाई घर छैन, खानलाई केही छैन । त्यहाँ विस्थापितहरू पल्लो गाउँतिर गएर खाना खाइरहेका छन् । गुरुङ भन्‍छिन् 'उहाँहरूको घरमा पनि खाद्यान्‍न रित्तिसक्यो अब के खाने हामी ?'

तिम्बु सडक सञ्‍जालबाट पनि टुटेको छ । पुलहरू केही छैन । तिम्बुमा २ वटा मात्रै किराना पसल छ, त्यही पसलमा भएका सामानहरू पनि रित्तिएका छन् । तिम्बुमा यतिबेलासम्म सरकारको अत्तोपत्तो छैन । संघसंस्थाहरू कोही पुगेका छैनन् । 


सरकार र कोही नपुगेपछि राहत र उद्धारका लागि तिम्बुबासी आफैले भिडियो बनाएर हार गुहार गरिरहेका छन् । 'हाम्रो उद्धार भएन । घर छैन । ज्यान मात्रै जोगाएर एकसरो कपडामा आयौँ' गुरुङ भन्छिन्, 'हिजो बाँच्‍न पाए हुन्थ्यो भन्‍ने लाग्थ्यो तर आज लाग्छ मर्न पाएको भए राम्रो हुन्थ्यो भन्‍ने जस्तो लाग्छ । बाँचेर कुनै अर्थ छैन । चार दिन भइसक्यो, बालबच्‍चा छन् कुनै राहत आएन, के खाएर बाँच्‍ने । २ वटा किराना पसल थियो । त्यहाँ पनि अहिले सबै सकियो केही बाँकी छैन ।' 


गुरुङको गुनासो छ 'अहिलेसम्म तिम्बुमा आएर एक पटक सरकार र संघसंस्था हेरिदिनुहोला । मेलम्ची खानेपानी प्रख्यात छ । तर यहाँका जनतालाई सरकारले केही हेरेन । सडक खनेर बिजोग भयो । ठाडो खोला कुन बेला आउँछ थाहा छैन ।' 'के हामी मरिसकेपछि मात्रै सरकारले हेर्न हो ? त्यहाँभन्दा अगाडी नै व्यवस्थित गर्ने हो ?' उनले प्रश्‍न गरिन् । 

'भोकले तड्पेर बच्चाहरूको बिजोग भइसक्यो । न बाटो छ । न पुल छ । न कुनै सुविधा छ । तीन चार जना गर्भवती महिला छन् । उनीहरूको डेट आइसक्यो, आँत्तिएर बसेका छन् । यो भिडियो चाँडोभन्दा चाँडो नेपाल सरकार सामू पुर्‍याइदिन अनुरोध गर्दछौँ' उनले भिडियोमा भनेकी छन् । उद्धार र राहत नआएको कारण आफुहरूले भिडियो बनाएको उनले बताएकी छन् । उनले तिम्बु बगरमा बसेर बनाएको भिडियो अहिले भाइरल भएको छ ।  


त्यस्तै तिम्बुकै पासाङ लामाले ११ घरधुरी पुरै विस्थापित भएको बताए । 'बाटो छैन । पुल छैन । राहत हेलिकोप्टरबाट मात्रै आउँछ । यहाँ कुनै राहत आएको छैन । ११ घरधुरी पुरै विस्थापित छन् । केही छैन घर' लामाले भने । । 

तिम्बुकै माया लामाले यहाँ ५० घरधुरी अझै जोखिममा रहेको बताइन । 'राति अरुको घरमा बसेका छौँ । ५० घरधुरी जोखिममा छौँ । राति बाढी पहिरोले लान्छ कि जस्तो लाग्छ' उनले भनिन् ।


Author

थप समाचार
x