समाज

महोत्तरीको गौशालाबाट ११ वर्षीया बालिका सात दिनदेखि बेपत्ता, अपहरण भएको आशंका

इकागज |
असार २१, २०८१ शुक्रबार १८:५५ बजे

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ७ दिनदेखि बेपत्ता भएकी छिन् । गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको बेला कृतिकुमारी महतो बेपत्ता भएकी हुन् ।

वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा बस्ने १९ वर्षीया आकाश कुशवाहा एकै दिन बेपत्ता भएपछि बालिकाको परिवारले कुशवाहाले नै  बेपत्ता बनाएको हुन सक्ने आशंका गरेका छन् ।


यसैको आधारमा कुशवाहामाथि बेपत्ता बालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन् । 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई कुशवाहाले लिएर गएको थाहा पाएका छौं,' कृतिकाका बुबा संजयकुमार महतोले भने, 'उमेर नै नपुगेकी ११ वर्षीया छोरीलाई अपहरण शैलीमा भगाएपछि अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौँ ।'

बालिका कहाँ छिन् भन्ने विषयमा मोबाइल फोन समेत प्रहरीले ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाउँ पहिचान गर्दा बालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको बेपत्ता बालिकाका परिवारजनले बताए ।

'हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौँ त्यहाँ कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पायौँ,' बेपत्ता बालिकाका मामा देवनारायण महतोले भने, 'त्यसपछि उनीहरूले हामी खोजिरहेको थाहा पाएपछि कुशवाहाको हजुरबुबा प्रभु महतोको घरमा पुर्याएकोसम्म थाहा पाएका थियौँ तर अहिले हाम्री भान्जी कहाँ छिन भन्ने केही थाहा छैन ।'

प्रहरीलाई जाहेरी दिएको ५ दिन बितिसक्दा पनि खोजबिनमा सुस्तता देखिएको भन्दै आफन्तहरूले गुनासो गरेका छन् । यता प्रहरीले भने खोजबिन प्रक्रियालाई तीव्रता दिएको र यसको लागि संयन्त्रहरू समेत प्रयोग गरिरहेको दाबी गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सुर्यबहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भइरहेको बताए । उनले भने, 'हामी लागीरहेका छौं, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरू थुप्रै रहेछन् हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र बनाएका छौं ।'

यता बालिका बेपत्ताको विषयलाई लिएर मानव अधिकारवादीहरूले समेत ध्यानाकर्षण जनाएका छन् । मानव अधिकारवादी सम्बद्ध संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले बालिका बेपत्तालाई लिएर आफूहरूको ध्यानाकर्षण भएको बताएकी छिन् । 'उमेर नपुगेकी बालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अब अपहरण मुद्दामा बालिकाका आफन्त अगाडि बढ्नुपर्छ ।'

बेपत्ता भान्जीको विषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।


Author

थप समाचार
x