समाज

नवलपुर खण्डमा कालीगण्डकी करिडोर अवरुद्ध

इकागज |
असार २२, २०८१ शनिबार १४:३३ बजे

नवलपरासी- कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण तरङ्ग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

करिडोर अवरुद्ध भएपछि गैँडाकोटबाट पहाडी क्षेत्रका लागि छुटेका र नवलपुरको पहाडी क्षेत्रसहित रामपुरबाट गैँडाकोटतर्फ आउँदै गरेका सवारी बाटोमा अलपत्र परेका छन् । ह्युमपाइप बगाएपछि खोला वारपार गर्नसक्ने अवस्था नभएको स्थानीय भोज पुलामीले बताए । ह्युमपाइप राख्नसके यातायात सञ्चालन हुनसक्ने उनले बताए ।


ह्युमपाइप बगाएपछि राखिएका सवारीलाई वारपार गराउन र ह्युमपाइप राख्न विषयमा समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्ने गरी रु तीन करोड ७३ लाखमा ठेक्का लागेको थियो । यही असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले काम सम्पन्न नगर्दा अहिले यात्रुहरूले सास्ती खेप्नुपरेको छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा तरङ्ग खोलाको पुलमात्र निर्माण गर्न बाँकी रहेको छ ।  

यसैगरी पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेको र बाटोमा बिग्रिएको सवारीका कारण एकतर्फी रुपमा सवारी सञ्चालनमा रहेको छ । यसले गर्दा सवारीसाधनको लामो लाइन लागेको छ । 

पूर्वपश्चिम राजमार्गकै डण्डा–चोरमारा–अरुणखोला–दुम्कीबासको विभिन्न खण्डमा बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । जिल्लाको पहाडी क्षेत्र जोड्ने दलदले–कुमसोत–पोखरी सडकअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन भएका छैनन् । 

जिल्लाको पहाडी क्षेत्र जोड्न दलदले–कुमसोत–पोखरी, गैँडाकोट–बुलिङ्टार–डेढगाउँ जोड्ने कालीगण्डकी करिडोर दुवै बन्द हुँदा पहाडी क्षेत्रको राजमार्गसँग यातायात सम्पर्क विच्छेद भएको छ ।


Author

थप समाचार
x