समाज

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढ्यो

उपत्यकाका विभिन्‍न स्थानमा तीन सय बढी प्रहरी परिचालन

इकागज |
असार २२, २०८१ शनिबार १४:५५ बजे

काठमाडौँ- गए रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ । 

यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । 


काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमाण्ड’ मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ ।

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे छलफल गर्न अहिले गृहमन्त्रालयमा आपत्कालीन बैठक जारी छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सो बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति छ ।


Author

थप समाचार
x