समाज

नारायणीको बाढी बस्तीमा पस्यो, एक सय घर डुबानमा

इकागज |
असार २२, २०८१ शनिबार २०:१७ बजे

नवलपरासी- नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बस्तीमा पसेको हो । 

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । 'यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ,' उनले भने, 'बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।'
 
बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए । 


यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।
 
नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


Author

थप समाचार
x