समाज

मुगुमा हतियार देखाइ लुटपाट गर्ने समूह पक्राउ (भिडियोसहित)

इकागज |
असार २४, २०८१ सोमबार १२:५४ बजे

सांकेतिक फोटो

काठमाडौँ - मुगु जिल्लामा हतियार देखाइ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा हातहतियार सहित प्रवेश गरी गोली चलाइ गाँउमा थुप्रै धनमाल लुटपाट गर्ने समूहका ३ जना अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरि सार्वजनिक गरेको हो । 


सो समूहले डोल्फु गाँउमा स्थानीयहरूलाई कुटपिट गरी डर त्रासमा पारी सोही गाउँका २४ वटा घर र एउटा गुम्बा समेत तोडफोड गरी नगद पैसा, सुन, चाँदी, यार्सा, मुर्ति, मोबाइल, समेतका धनमालहरू लुटेका थिए । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको टोलीले ८ जना अभियुक्त मध्ये ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठीचौर गा.पा.३ बस्ने गणेश भण्डारी, पूर्ण प्रसाद भण्डारी र कमल थापा रहेका छन् ।

लुटेरा समूहबाट प्रहरीले एसएलआर, सो को म्यागजिन २ थान, २५ राउण्ड गोली, कटुवा पेस्तोल थान–१, कम्ब्याट रंगको रेनकोट ५ जोडी, सुनका मारवाडी र रिङ थान ४ वटा लगायत बरामद गरिएको छ ।

साथै घटनाको अनुसन्धान जारी रहेकोले फरार व्यक्तिहरूको पहिचान एवं खोज तलास कार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए । 

हेर्नुहोस् भिडियो


Author

थप समाचार
x