समाज

भरतपुर महानगरद्वारा ६६ थान कृषि उपकरण वितरण

इकागज |
असार २५, २०८१ मंगलबार १४:४४ बजे

चितवन- चितवनको भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे । महानगरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरेको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए ।


उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले बर्सेनि यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् ।

महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आए पनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको महानगर प्रमुख दाहालले बताइन् ।

महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो ।


Author

थप समाचार
x