समाज

काठमाडौँ महानगरद्वारा सिन्धुपाल्चोकका बाढीग्रस्त तीन पालिकालाई तीन करोड सहयोग

इकागज |
असार ७, २०७८ सोमबार २०:५० बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको बाढीग्रस्त मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई राहत तथा उद्दारका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख विद‍्यासुन्दर शाक्यले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सोमबार महानगर प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । शाक्यले महानगरपालिकाको तर्फबाट महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र दुई पालिकालाई ५०/५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि नै गरेका थिए ।


सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको छ ।निरीक्षणपछि बोल्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको शाक्यले बताए।

'मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्बन्ध जोडिएको छ,' उनले भने, 'यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं।'

मेलम्ची क्षेत्रको क्षतिको तुलनामा महानगरपालिकाले गरेको सहयोग निकै सानो रहेको शाक्यले बताए । 'मेलम्चीसँग हाम्रो भगिनी सम्बन्ध छ। सम्बन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,' शाक्यले भने ।


Author

थप समाचार
x