रौतहटमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
सांकेतिक तस्बिर
रौतहट- रौतहटमा बिहीबार छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम गौरस्थित पोखरीको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो । त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको हो ।
आज बिहान सवा ८ बजेको समयमा गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने वर्ष ६० का पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फूल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडी डुबी अचेत भएका थिए ।
अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारका लागि दिउँसो डेढ बजे थप उपचारका लागि विरगञ्ज पठाइएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो ।
खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । बिहीबार वृन्दावन नगरपालिका वडा २ धनगढीमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा ट्याक्टर चालक पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मौलापुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको हो ।
बिहीबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षीया धरोहरी देवीको मृत्यु भएको हो ।
खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन् ।
त्यसैगरी राजदेवी ७ मुड़बलवा गाउँका ५० वर्षीय विनोद राय यादवको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । पानी परिरहेको समय छतमा चढेका यादव अनियन्त्रित भएर तल खस्दा मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाहरूको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया