समाज

जापान जाँदै हुनुहुन्छ ? के-के लैजान पाइँदैन् ?

इकागज |
असार ३१, २०८१ सोमबार ८:१४ बजे

काठमाडौँ- तपाईं जापान यात्रा गर्दै हुनुहुन्छ ? यदि तपाईं जापान जाँदै हुनुहुन्छ भने के सामान लैजान पाइन्छ के लैजान पाइँदैन् भन्ने कुरा बुझ्न जरूरी छ । जापानी इमिग्रेशनले विभिन्न सामान लैजान रोक लगाएको छ । यदि तपाईंले जापानी इमिग्रेशनले अनुमति दिएको भन्दा अन्य सामान लैजानुभयो भने समस्यामा पर्नुहुन्छ ।

यदि तपाईं जापान जाँदै हुनुहुन्छ भने तल उल्लेखित वस्तुहरू लैजानु हुँदैन । जापानी इमिग्रेशनले ती वस्तुहरूको कडा जाँच गर्छ र तिनीहरूलाई ल्याउँदा कानुनी समस्या र कडा सजाय भोग्नुपर्ने हुनसक्छ ।


- मासु र मासुजन्य खानेकुरा : नेपालबाट ल्याइएको सुकुटी, फ्राई मासु, ससेज, सलामी, जनावरको मासुबाट बनेका कुनैपनि खानेकुरा । 

- पकाएको खानेकुरा : नेपालमा घरमै तयार पारेर पकाइएको तरकारी, मिठाईका परिकार । 

- खुल्ला मिठाई : गुणस्तरयुक्त बनाएको र खान मिल्ने अन्तिम मिति उल्लेख नभएको, मिठाईमा प्रयोग गरिएका पदार्थ उल्लेख नगरिएको । 

- सुख्खा खानेकुरा : सिन्की, गुन्द्रुक, खुर्सानी, अन्य सुकाएका खानेकुरा, गाँजा, भाँङ (अचारमा प्रयोग गर्न ल्याएको) । 

- मसाला जन्य सामग्री : खुल्ला राखिएको, मिति, गुणस्तर, प्रयोग सामग्री नखुलाइएको खुर्सानीको धुलो, मसला । 

- घ्यू, गुदपाक, सुत्केरी मसलालगायत : खुल्ला घरेलु खानेकुरा, जसमा बनेको मिति, प्रयोग गर्न मिल्ने मिति, प्रयोग गरिएको सामग्रीको नाम स्पष्ट नभएको ।

- प्रज्वलनशील पदार्थ : आगलागी हुनसक्ने ग्यास, तेल, पेट्रोलियम पदार्थ, ईनामेल, लाइटर, सलाई, विद्युत् प्रवाह गर्नसक्ने चार्ज ब्याट्री । 

- हतियार तथा औजार : चक्कु, खुकुरी, कैंची, पत्ती ब्लेड, हम्मरलगायत काट्न मिल्ने खालका हतियारजन्य सामान । (केही वस्तु ह्याण्ड क्यारीमा नमिलेपनि लगेजमा राख्न मिल्छ तर आधिकारिक बिल र प्रयोगको उपादेयता पुष्टि गर्नसक्नुपर्दछ) । 

- विस्फोटक सामग्री : बन्दुक, गोली, बारुद, पटाका आदि पूर्णत: निषेधित छन् । 

- औषधि: व्यक्तिगत प्रयोग गर्दै आएको औषधिबाहेक अन्य औषधि बोक्न पाइँदैन । अनिवार्य चिकित्सकले काटेको पुर्जी र चेकजाँच गरेको कागजात हुनुपर्नेछ ।

पछिल्लो समय मासुजन्य पदार्थका कारण कोरोना भाइरसको संक्रमण फैलिएको हुँदा जापानको इमिग्रेशनले विमानस्थलमा कडा चेकजाँच गरिरहेको छ । यी सामानहरू बोक्नुभयो भने तपाईंलाई विमानस्थलबाटै फर्काइने वा जेल सजाय तथा जरिवाना तिर्नुपर्ने हुन्छ ।

तपाईंको जापान यात्रा अवरोध नहोस् भन्नका लागि आफन्त, साथीभाइको कोसेलीको नाममा केही पनि सामान ल्याउने वा लैजाने नगर्नु उत्तम हुन्छ । ध्यान दिनुहोस् यी वस्तुहरू जापानबाट नेपाल जाँदा पनि बोक्न पाइँदैन ।


Author

थप समाचार
x