Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

भुम्लु गाउँपालिका-१

गाउँमा मलामी जाने मानिस नहुँदा वडाले घाटमा गर्‍यो दाउराको व्यवस्था

इकागज |
असार ३१, २०८१ सोमबार १७:३२ बजे

काठमाडौँ- गाउँघरमा मलामी जाने मानिस नभएको भन्दै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ ले शव दाहसंस्कार गर्न निःशुल्क दाउराको व्यवस्थापन गरेको छ । दोलालघाट सापिङको सिम्ले बेसिघाट र चेहेरे बेसिघाटमा शव दाहसंस्कार गर्न निःशुल्क दाउराको व्यवस्था गरेको हो ।

हिजोआज गाउँघरमा मलामी जाने मानिस नभएको र मलामीलाई घाटमा पुग्दा दाउरा व्यवस्थापन गर्न गाह्रो भएकाले वडाले निःशुल्क दाउरा उपलब्ध गराउने गरेको अध्यक्ष लेखनाथ श्रेष्ठले बताए ।  उनका अनुसार दाउराको व्यवस्थापन निरन्तर चलिरहने छ । आफ्नो कार्यकाल भरि शव दाहका लागि निःशुल्क दाउरा उपलब्ध हुन्छ ।


उनले वडाले दाउरा व्यवस्थापनका लागि एक लाख बजेट छुट्टयाएको जानकारी दिए । दाउरा खोज्नका लागि दुई जना मानिसको व्यवस्थापन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘यो वर्षभरिलाई पुग्ने दाउरा भेला पारिएको छ,’ अध्यक्ष श्रेष्ठले भने,’भैपरी आउने खर्चबाट पनि व्यवस्थापन गरिन्छ । सामुदायिक वनसँग समन्वय गरेर दाउराको जोहो गरिएको छ ।‘

घाटमा दाउरा व्यवस्थापनमा गरेर राखिएको उनले बताए ।  १५ देखि २० वटा शव जलाउने गरी दाउरा संकलन गरिएको उनले प्रस्ट पारे । दाउरा चोरी हुन्छ भनेर ठाउँ-ठाउँमा मानिसहरू राखिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x