समाज

ओशोधाराको ध्यान योग कार्यक्रम सम्पन्‍न

इकागज |
असार ३१, २०८१ सोमबार २०:१२ बजे

काठमाडौँ- ओशोधारा नेपालले आयोजना गरेको तीन दिने ध्यान योग कार्यक्रम समर्थगुरु सिद्धार्थ औलियाको आशीर्वादसहित नाद दीक्षा कार्यक्रम मार्फत काठमाडौँमा सम्पन्न भएको छ ।  असार २७, २८ र २९ गते सञ्चालित उक्त कार्यक्रममा  ३० जनाभन्दा बढी नयाँ साधकले नवसन्यासमा दीक्षा लिएका थिए । 

कार्यक्रमको अन्तिम दिन विभिन्न योगहरूको अभ्यास गर्दै सहभागी नवसन्यासीहरूले कार्यक्रमको बारेमा आफ्नो अनुभव सुनाउँदै ओशोधारा नेपाल र आचार्यहरू प्रति आभार व्यक्त गरेका थिए । सहभागीहरूले ओशोधारा नेपालको यस कार्यक्रमलाई निरन्तर दिन र अझै धेरै क्षेत्रमा यसको विस्तारमा लाग्न सुझाव दिएका थिए ।


साथै सहभागीहरू मध्ये नवसन्यासी स्वामी अमृत प्रेमले भने, 'यस अगाडि विभिन्न ठाउँमा योग, प्राणायाम ध्यानको बारेमा केही जानकारी र अभ्यास गरेको थिएँ । यस प्रकारको वृहत् कार्यक्रममा पहिलो पटक उपस्थित भएको हुँ । यस कार्यक्रमबाट सम्यक दृष्टी, जागृति, योग, ध्यान, समाधिको ज्ञान र अभ्यासमा बढोत्तरी भएको छ । ध्यानबाट आत्मसन्तुष्टी र जीवनलाई सफल बनाउने कला र सीप प्राप्त गरेको छु । यस ३ दिने शिविरबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न प्रयासरत रहनेछु । यो ज्ञान सिपलाई कार्यालयको काम, पारिवारिक एवं सामाजिक कार्यमा समेत प्रयोग गर्ने र अहिलेको सिकायत, प्रतिकूल एवं अप्ठ्यारा अवस्थाको समेत सहज रूपमा सामाना गर्न यसले सघाउ पुर्‍याउने छ । म यस प्रकारको योग ध्यान प्राप्त गरी जीवनलाई सहज, सरल र सफल बनाउन सबैलाई अनुरोध गर्दछु ।'

कार्यक्रममा सहभागी स्वामी दिव्य संगीतले व्यक्त गरे, 'ध्यान योगले मलाई लयमा जिउन सिकायो । ली नहुँदा प्रलय हुन्छ भन्ने मैले बुझेँ अब यसलाई व्यवहारमा उतार्छु र गुणात्मक जीवन जिउनेछु ।'

अर्का सन्यासी स्वामी आनन्द उत्सवले भने, 'यो कार्यक्रममा आएर मैले अहंकार गुमाए र बाँकी पाउन लायक सबै चिज पाएँ । यस कार्यक्रमले म मा विकास भएको सकारात्मक ऊर्जाले गर्दा सबैलाई अनुरोध गर्छु कि यो ध्यान योग कार्यक्रम जुनसुकै तह र तप्काका, जुनसुकै उमेर समूहका व्यक्तिलाई आवश्यक छ ।'

कार्यक्रमका अर्का सहभागी मा प्रेम करूणाले भनिन्, 'तीन दिनमा यति धेरै सकारात्मक र जीवन नै नयाँ अनुभूति होला भनेर त मैले कल्पना पनि गरेको थिइनँ । ध्यान, प्रज्ञा र सुमिरनको शक्ति गजबको शक्ति रहेछ । गुरुबाट जुन नाम पाएको छु त्यसअनुसार अध्यात्मलाई अगाडि बढाउन र करूणा र प्रेमलाई फैलाउन ओशोधारा मार्फत म लाग्नेछु ।'

त्यसैगरी स्वामी अमृत प्रेमले ध्यान र प्रज्ञाका सूत्रबिना जीवनमा आनन्द र सन्तोष नमिल्ने रहेछ । मसँग के सम्पदा रहेछ त्यो अहिले मैले जानेको छु ३ दिनको बीचमा । यसलाई म जीवनमा आफ्नो व्यवहारमा उतार्ने बताए । स्वामी दिव्य प्रेमले पहिलोपटक अमिले जीवनमा यति राम्रो र लाभदायक कार्यक्रम गर्ने अवसर पाएको बताए । व्यवसायी, संगीतज्ञ, सामाजिक अभियन्ता, आध्यात्मिक अभियन्ता, सेवा अवकाश, गृहिणी लगायत विद्यार्थी समेत सहभागी भएका यो कार्यक्रममा समग्रमा सबैले आफ्नो स्वाध्याय गर्न सकेको बताए ।

उक्त कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य पुजारी र आचार्य डा गोपाल भट्टले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । आचार्यहरूले विभिन्न योग, ध्यान, प्रवचनसहित साधना कला प्रदान गरेका थिए । ओशोधारा नेपालले विगत २३ वर्ष देखि ध्यान, योग, प्रज्ञा मार्फत भौतिक क्षेत्रमा पनि सफल हुने र आध्यात्मिक आनन्द प्राप्त गर्नेगरी विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।


Author

थप समाचार
x