समाज

सिमलताल पहिरो : गणपति डिलक्सका चालक र सहचालकको शव फेला

अहिलेसम्म १७ वटा शव फेला, नौ शवको पहिचान

इकागज |
साउन १, २०८१ मंगलबार १९:४१ बजे

चितवन- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । 

उनीहरू दुवैको शव घटना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।


काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंह रहेका थिए ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।

पाँच दिन पहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म फेला परेका छैनन् । 

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए । न्युजकारखाना


Author

थप समाचार
x