आठबिसकोट बाढी : बगरका स्थानीयलाई सुरक्षित स्थानमा सारियो
फाइल तस्बिर
त्रिवेणी (रुकुम-पश्चिम)- रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ झिनचौरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । सोमबार राति गिजागाड खोलामा आएको बाढीले झिनचौरस्थित बगरगाउँ पुरिएपछि त्यहाँका स्थानीयलाई सोही वडाकै झिनचौरस्थित कर्णाली वेभरेज प्राली रहेको भवनमा स्थानान्तरण गरिएको हो । बगरका करिब १५ घरपरिवारलाई वेभरेज प्राली रहेको भवनमा सारिएको आठबिसकोट नगरपालिका फोकल प्रसन मानबहादुर बटालाले जानकारी दिए ।
उनका अनुसार बाढी पीडित परिवारलाई तल्कालको लागि नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कमल, म्याटलगायतका सामग्री उपलब्ध गराएको बटालाले जानकारी दिए । सोमबार राति बाढीले बगर गाउँका चारवटा अस्थायी आवास र पाँचवटा कच्ची घर गरेर नौ घर पूर्णरूपमा क्षति पुर्याएको छ । त्यस्तै एउटा कुखुरा फार्म, एउटा काष्ठ उद्योग पनि पुरिएको छ ।
बाढीकै कारण वडा नं ११ सिमबजारका १० र वडा नं ७ खारखाराका दुईवटा गरी १२ घर बाढीको उच्च जोखिममा छन् । सिमबजारका स्थानीय सुरक्षित स्थानमा सर्न थालेको छन् ।
बाढीले चार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुर्याएको छ । गिजागाड खोलामा रहेका सातवटा पानी घट्ट पनि बगेका छन् । यसैगरी बाढीका कारण नगरपालिकाका विभिन्न स्थानमा विद्युत्, ग्रामीण सडक अवरुद्ध हुनुका साथै खानेपानीका पाइपमा क्षति पुगेकाले स्थानीयलाई समस्या भएको छ ।
झिनचौरखोला, तातापानी खोला र डोेबखोलामा सोमबार राति बाढी आउँदा झिनचौरस्थित बगरगाउँमा अस्थायी आवासमा सुतिरहेका बेला बाढीले घर बगाउँदा पुरिएर १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बेपत्ता भएका ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकीको बिहानैदेखि खोजी कार्य भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया