समाज

बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

इकागज |
साउन १, २०८१ मंगलबार २१:३५ बजे

फाइल तस्बिर

दोधारा चाँदनी (कञ्चनपुर)- अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति पुगेको छ । चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा क्षति पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । 

चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर चारवटा लघुना र एक  चित्तल मरेको अवस्थामा भेटिएको उनले बताए । 'चौधर नदीको बाढी निकुञ्जमा पस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा फेला पारेका छन्,' ऐरले भने । 


उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एक दर्जन बढी काठे पुल र पक्की पुल बगेका छन् । 'पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ,' संरक्षण अधिकृत ऐरले भने, 'जसका कारण अनुगमन तथा गस्ती गर्न समस्या भएको छ ।' पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन । महाकालीको बाढी निकुञ्जभित्र नपसेकाले बाह्रसिङ्गाको बासस्थानमा भने क्षति नभएको निकुञ्जले जनाएको छ । 

बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा भने क्षति पुर्याएको छ । यसका साथै निकुञ्ज कार्यालय र निवास डुबानमा परेपछि कार्यालयका फाइलसमेत भिजेका संरक्षण अधिकृत ऐरले बताए ।


Author

थप समाचार
x