समाज

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्‍ने अवसर

इकागज |
साउन २, २०८१ बुधबार १४:४७ बजे

काठमाडौँ- इयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनोटका लागि फारम आह्वान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षणप्रति युवाहरूलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनोटका लागि फारम आह्वान गरिएको हो ।

इयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न बृहत् युवा संलग्नतालाई प्रवर्द्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रूपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले विश्वास व्यक्त गरे ।


अध्यक्ष मिश्रले यस अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरणप्रति सचेतना बढाउने लक्ष्य राखेको बताए ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निर्माणका लागि योगदान पुर्‍याउन युवाहरूको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तीकरण र शिक्षित गर्नु रहेको बताए ।

परियोजना सञ्चालित बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एक/एक जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवालाई छनोट गरिने छ । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनोट भएका युवाहरूलाई आ-आफ्नो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन् ।

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाडललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन् । उनीहरूले दिगोपनका सिद्धान्तहरूलाई सुनिश्चित गर्दै प्रभावकारी रूपमा आफ्नो समुदायमा मूर्तकार्यहरूमा परिणत गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नेतृत्वदायी भूमिका निर्वाह गर्दै वातावरणीय रूपमा जिम्मेवार नागरिकहरूको एक पुस्ता निर्माण गरी सबैका लागि राम्रो, थप दिगो भविष्य सिर्जना गर्न प्रतिबद्ध हुनेछन् ।

फारम भर्नका लागि  https://greenshiftnepal.org/ लगइन गरी विस्तृत जानकारी लिन सकिने बताइएको छ ।

इयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र युथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रूपमा रहेका छन् ।


Author

थप समाचार
x