समाज

झापामा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाको मृत्यु

इकागज |
साउन २, २०८१ बुधबार १९:५१ बजे

फाइल तस्बिर

भद्रपुर (झापा)- जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । 

सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । 


प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप/कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ । 

आव २०७९/८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए । 

सवारी कारबाही 

जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार चार सय ५६ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारी साधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ । 

सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए । उनले भने, 'अहिले सवारी साधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ । एउटै चालक अनुमतिपत्र र सवारी साधनले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ ।'

गत वर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाइकल कारबाहीबाट रु एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा रु एक करोड सात लाख २७ हजार राजस्व सङ्कलन भएको थियो । 

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए । गत वर्ष मापसे गरेर सवारी साधन चलाउने दुई हजार ६४ सवारी साधनलाई कारबाही गरिएको थियो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए । यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए । रासस


Author

थप समाचार
x