समाज

विपदबाट आजसम्म एक सय २५ को मृत्यु

इकागज |
साउन ३, २०८१ बिहीबार १८:५४ बजे

काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ । 

विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनका अनुसार विपदमै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । 

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, 'बाढीपहिरोलगायत विपदमा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।'

सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । 

दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई  सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदमा पाँच सय ८५ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।


Author

थप समाचार
x