समाज

मधेश प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन

इकागज |
साउन ३, २०८१ बिहीबार २१:४३ बजे

जनकपुरधाम- मधेश प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ ।

आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरुप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ । मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरूको भनाइ छ ।


आयोगमा तीन सदस्यीय पदाधिकारी प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ । त्यसमध्ये एक जना सदस्य डा सुजाता देव मात्र कार्यरत छन् । आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण छ महिना अगाडि पदमुक्त भएपछि आयोग पदाधिकारीविहीन भएको हो ।

आयोगमा पदाधिकारी मात्र होइन विसं २०८० मङ्सिर २१ गतेबाट सचिव पद पनि रिक्त छ । तत्कालीन सचिव नरेशराज खरेलको अन्यत्र सरुवा भएपछि नयाँ सचिव नआएको आयोग कार्यालयले जनाएको छ । पदाधिकारी र सचिव नहुँदा साउन १ गते आयोगले सार्वजनिक गर्ने कर्मचारी भर्नासम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशन गर्न सकेको छैन ।

अध्यक्ष, सदस्य तथा सचिव नहुँदा नियमित प्रशासनिक कामबाहेक अन्य काम ठप्प भएको आयोगका प्रवक्ता तथा उपसचिव गणेश गुञ्जन झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार अन्तर्वार्ता लिइएको उम्मेदवारको नतिजा सार्वजनिक, सिफारिस, विज्ञापन गरिएका लिखित परीक्षा, सम्बन्धित निकायसँग रिक्त रहेको दरबन्दी माग तथा विज्ञापन निकाल्नेलगायत काम अघि बढ्न नसकेको हो । 

आयोगकी एक मात्र सदस्य डा देवका अनुसार दुई जना पदाधिकारी भएमा मात्र निर्णय गर्नसक्ने कानुनी व्यवस्थाअनुसार आफू एक्लैले केही गर्न नसक्ने बताए । मधेश प्रदेश सरकारलाई आयोगमा पदाधिकारी नियुक्तिका लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा कुनै सुनुवाइ नभएको उनले बताए । 
  
लोकसेवा आयोग स्थापनाको पाँच वर्षमा हालसम्म विभिन्न एक हजार २२ पदको विज्ञापन आयोगले गरेको छ । जसमा कर्मचारी बढुवातर्फ तीन सय ७६ जना सिफारिस भएका छन् । खुलातर्फ छ सय ४६ जना कर्मचारी माग गरिएकोमा सबै प्रक्रिया पुरा गरेर छनोट भएका एक सय ८५ मात्र सिफारिस गर्न सकेको आयोगले जनाएको छ । 

प्रवक्ता झाका अनुसार आव २०७९/८० मा खुला विज्ञापनमार्फत बढुवा र खुला गरी उपसचिव नवौंदेखि सहायक चौथो तहमा दुई सय कर्मचारी पदपूर्ति गर्नुपर्ने आयोगको लक्ष्य रहेको थियो । आव २०८०/८१ मा एक सय १७ कर्मचारी भर्ना गर्नुपर्ने भए पनि आयोगले पदपूर्ति गर्न सकेको छैन । आव २०७९/८० मा नवौँ तह उपसचिवमा बढुवाका लागि गरेको ११ पदका विज्ञापनमा प्रक्रिया पु-याएर तीन जना सिफारिस भइसकेका छन् भने आठ जनाको सिफारिस बाँकी रहेको छ ।

 तत्कालीन मुख्यमन्त्री लालबावु राउतको कार्यकालमा प्रदेश लोकसेवा आयोग २०७६ भदौ ४ गते गठन भएको थियो ।


Author

थप समाचार
x