Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

इकागज |
साउन ४, २०८१ शुक्रबार १५:८ बजे

चितवन- विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माण स्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको र सुरक्षाको काम गर्न नपाएको बताए । उनले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिए ।


बाढीले गृहको भूइँतलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नुपर्ने जरुरी भएको थापाको भनाइ छ। 

विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । शवदाह गृह रु ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । चारपटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुत गतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताए । देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिए ।


Author

थप समाचार
x