समाज

डा इवामुरा अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको खुलासा

इकागज |
साउन ४, २०८१ शुक्रबार १९:३५ बजे

भक्तपुर- भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ । मुटुसम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको तथ्य खुलेको हो ।

जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी बिरामीलाई पछि काठमाडौँको एक निजी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँबाट पुनः इवामुरामै फर्काएर उपचार गरिएको थियो । 


इवामुराले गलत उपचार गरेको र नेपालको एक मात्र सरकारी मुटुरोग अस्पताल शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा रिफर नगरी निजी अस्पतालमा पुर्याई फेरि इवामुरामै बिरामी फर्काउन लगाई उपचार गरेकाले बिरामीको ज्यान गएको आरोप आफन्तको छ । 

दुई बच्चाकी आमा सुनारको मृत्यु भए पश्चात् मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भनी शव बुझ्न नमान्दा अस्पताल प्रशासन र आफन्तबीच प्रहरी प्रशासनको रोहबरमा वार्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित परिवारलाई ६ लाख रुपैयाँ दिन र मृतकका २ बच्चालाई उच्च शिक्षासम्म पढाइको व्यवस्था गरिदिन अस्पताल मन्जुर भएको थियो । गल्ती स्वीकार गरी सहमति भएको भनिए पनि त्यो विषय अहिले मात्रै खुलेको हो । सहमतिपछि परिवारले शव बुझेको थियो ।

अस्पताल व्यवस्थापक राजुमृगेन्द्र जोशीले डाक्टरको लापरबाहीले मृत्यु नभएको स्पष्ट पारे । उपचारका लागि अर्काे अस्पतालमा रिफर गरिएको तर खर्च अभावमा आफ्नै अस्पतालमा ल्याएर उपचार भइरहेको उनले बताए । 

केही समयअघि पनि आफैँ हिँडेर सोही अस्पताल पुगेका भक्तपुर नगरपालिका वडा नं ७ की ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको अस्पतालको लापरबाहीले मृत्यु भएको थियो । 


Author

थप समाचार
x