‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा
काठमाडौँ- ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडियोहरू प्रशस्त आउने गरेका छन् ।
विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेको भेटिन्छ ।
जडिबुटीहरूको मिश्रण रहेका त्यस्ता आयुर्वेदिक औषधि प्रयोग गरे ‘लाइफटाइम’ सुगर ठीक हुने भन्दै विज्ञापनहरू गरिरहेको पाइन्छ ।
यस्तै विज्ञापनको भर परेर आयुर्वेदिक औषधि सेवन गर्दा गण्डकी प्रदेशका एक जना पूर्वमन्त्रीले सास्ती खेप्नु परेको छ ।
‘बाई बाई सुगर’ नामको आयुर्वेदिक औषधिजन्य क्याप्सुलको भर पर्दा उनले शारीरिक मात्रै होइन, मानसिक यातना खेप्नु पर्यो ।
बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन् ।
उनी उक्त क्याप्सुल बेच्ने नेपाली कम्पनीलाई कारबाही माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका हुन् ।
गोपनीयतालाई मध्यनजर गर्दै यहाँ ती पूर्वमन्त्रीको पहिचान खुलाइएको छैन ।
ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती मन्त्रीले तीन महिना ‘बाई बाई सुगर’ क्याप्सुल सेवन गरे । तर, सुगर नियन्त्रण हुनुको सट्टा बढेको बढै गरेपछि उनी सशंकित भए ।
चिकित्सककहाँ पुगेपछि उनले थाहा पाए ‘बाई बाई सुगर’ को भर पर्दा आफ्नो स्वास्थ्यमा झन्डै गम्भीर समस्या निम्तिन लागेको ।
त्यसपछि उनी प्रहरीकहाँ पुगेर निवेदन दिएका छन् । बोगटीका अनुसार ‘बाई बाई सुगर’ बेचबिखन गर्ने कम्पनी काठमाडौँ सोह्रखुट्टेमा रहेको पत्ता लागेको छ ।
‘त्यसका सञ्चालकलाई हामीले बोलाएका छौं, उनी आइसकेका छैनन्,’ बोगटीले भने ।
उनका अनुसार यसको फेसबुक पेज देखिएको छ । ठेगाना काठमाडौं लेखिएको छ । त्यहाँ ‘बाई बाई सुगर’को विज्ञापनहरू पोष्ट गरिएको छ । अमेरिकामा बनेको र विश्वप्रसिद्ध रहेकाले सुगर निर्मूल हुने भन्दै इन्सुलिन लगाइरहन नपर्ने भनी आश्वस्त पारिएको छ ।
उक्त क्याप्सुल अमेरिकामा बने/नबनेकोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । बोगटीले यसको सत्यता परीक्षणका लागि अनुसन्धान भइरहेको बताए ।
बोगटीले सामाजिक सञ्जालमा पोस्ट गरिएका विज्ञापन हेरेर आयुर्वेदिक औषधि सेवन गर्दा विचार पुर्याउनु पर्ने देखिएको बताए ।
उनले चिकित्सकको परामर्श र औषधि कम्पनीको आधिकारिकता परीक्षण गरेर मात्रै यस्ता औषधि सेवन गर्न सुझाव दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया