पहिरोमा बेपत्ताको खोजीका लागि १२ जना भारतीय टोली बेलहिया हुँदै नेपाल आयो
भैरहवा- गत शुक्रबार चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ ।
रुपन्देहीको बेलहिया नाका हुँदै राति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञसहितको टोली नेपाल आएको हो । त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली ४ वटा गाडीसहित नेपाल आएको छ । टोलीले उद्वारमा चाहिने उपकरणसमेत लिएर आएका छन् ।
गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो, सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरूलाई स्वागत गरी भैरहवामा राखेको थियो ।
उनीहरू राति भैरहवामा बास बसी बिहानै चितवनतर्फ प्रस्थान गरेका छन् । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन् । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडीसहितको टोलीलाई स्वागत गरिएको थियो ।
खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन् ।
राष्ट्रिय विपद् प्रतिकार्य फोर्स भारतका एक जना विज्ञसहित १२ जना रहेका छन् । उनीहरूले उद्वारकका लागि चाहिने डोरी, पानीभित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोटलगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया