समाज

नेपाल प्रहरीमा २७ हजार नयाँ दरबन्दीको माग

इकागज |
साउन ७, २०८१ सोमबार १३:२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल प्रहरीले २७ हजार नयाँ दरबन्दीको माग गर्दै गृह मन्त्रालयमा प्रस्ताव प्रस्तुत गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार ९२१ स्थानमा नयाँ कार्यालय स्थापना गर्न र ४४३ कार्यालयको स्तरवृद्धि गर्न आवश्यक जनशक्ति पूरा गर्न यो दरबन्दीको आवश्यकता परेको हो।

हाल, प्रहरी विभागले १६ हजार १८९ जनशक्तिको माग राख्दै ६९३ वटा अस्थायी प्रहरी पोस्ट र ४१६ अस्थायी ट्राफिक पोस्ट सञ्चालनमा ल्याएको छ । जसमा ४ हजार ३७७ र १ हजार ३०६ प्रहरी कार्यरत छन्।


संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार २२० नागरिकमा एक प्रहरी हुनुपर्ने भए पनि नेपालमा एक प्रहरी ३८५ नागरिकको सुरक्षा हेर्न बाध्य छ। नयाँ प्रहरी इकाइको माग सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको छ । जहाँ २४५ नयाँ इकाइहरूको प्रस्ताव गरिएको छ।

नेपाल प्रहरीका २ हजार ६६० कार्यालयमध्ये ४२१ कार्यालय अन्य निकायको भवनमा आश्रित छन् । र ८०२ कार्यालयमा शौचालयसमेत छैन । ८४३ कार्यालयमा ब्यारेक र ८३३ कार्यालयमा मेसको सुविधा पनि छैन। यी समस्याहरू बजेटको कमी र उचित व्यवस्थापनको अभावले सिर्जना भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

समग्रमा प्रहरी जनशक्ति र पूर्वाधारको अभावले सेवा प्रवाहमा कठिनाइ ल्याउँदै सुरक्षाको क्षेत्रलाई असर पुर्याएको छ।
 


Author

थप समाचार
x