समाज

फुटपाथ विस्तार गर्ने 'डोजर' सँग डराएको न्युरोड

अतिन आचार्य |
साउन ७, २०८१ सोमबार १५:२६ बजे

काठमाडौँ- एक साताअघि पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकालाई न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्न आदेश दियो । अदालतले आइतबार आदेश जारी गरेपछि महानगरलाई फुटपाथ विस्तार गर्न बाटो खुल्यो ।

लगत्तै फुटपाथ बढाउन महानगर पनि अदालतको आदेश लिएर सडकमा डोजर लिएर निस्कियो । केही समयअघि महानगरले विस्तार गरेको फुटपाथ सडक विभागले पुरेको थियो । लगत्तै महानगर सडक विभागविरुद्ध उच्च अदालत पाटन पुगेको थियो ।


अदालतको आदेशसँगै महानगर डोजर लिएर न्युरोड पुग्यो । डोजर सँगसँगै महानगरपालिकाले ब्लक लगाउन पनि सुरु गर्‍यो । न्युरोडको वडा नम्बर २४ स्थित सडकको दायाँबायाँ डेढ-डेढ मिटर सडक खनेर सिमेन्टको ब्लक लगाइसकेको छ ।

तर, २२ नम्बर वडा क्षेत्रभित्र पर्ने सडकमा भने स्थानीय र जनप्रतिनिधिको अवरोधले फुटपाथ विस्तार हुन सकिरहेको छैन । जसले फुटपाथ विस्तार गर्न मात्र रोकेनन्, अदालतको आदेशसमेत अवज्ञा गरिरहेको छ । फुटपाथ विस्तारले न्युरोडवसीलाई त्रासमा मात्र राखेको छैन, उनीहरू अहिले डोजरदेखि तर्सिएका छन् ।

महानगरले फुटपाथ विस्तार गर्न लगेको डोजर सडक किनारमा पार्किङ गरेर राखिएको छ । सडक फुटपाथको ढुंगा र गिट्टी उठाउन सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । 

यो समाचार तयार पार्दै गर्दा आज न्युरोडको अवस्था सामान्य छ । महानगरमा वडा २२ का अध्यक्ष चिनिकाजी महर्जन, नगरप्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धर वार्तामा छन् ।

केही दिनअघि महानगरले डोजर लिएर पुग्दा स्थानीय र नगर प्रहरीबीच घम्साघम्सी भयो । स्थानीयको अवरोधकै बाबजुद पनि नगर प्रहरीको मानव साङ्लोमा रहेर डोजरले फुटपाथ बढाउने काम गर्‍यो । त्यति गर्दा पनि स्थानीयले आफ्नो मागबाट पछि हटेका छैनन् ।

आइतबार काठमाडौँ महानगर २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनले वडाको सेवा सडकमा बसेर प्रवाह गरे । सोमबार पनि उनीसहित केही वडा सदस्य तथा स्थानीयहरूलाई भेला पारी न्युरोडको नेपाल बैंक अगाडि पाल टाँगेर कुर्सी लिएर बसेका छन् ।

आखिर महानगरपालिकाले किन न्युरोडमा फुटपाथ विस्तार गर्दा जनप्रतिनिधिसहित स्थानीय अवरोध गरे । फुटपाथ विस्तार महानगरपालिकाको पर्याप्त तयारी नपुगेकै हो ?

महानगरपालिकाको सहरी योजना आयोग र सहरी यातायात तथा सडक सुरक्षा एकाइले न्युरोड सडक क्षेत्रका पूर्वाधार, यसको उपयोगिता, समस्या र सम्भावित समाधानका उपायका विषयमा गएको जेठ महिनामा संयुक्त अध्ययन गरिरहेको थियो ।

सहरमा सवारी साधनमा यात्रा गर्ने यात्रीभन्दा पैदल मार्गमा हिँड्ने यात्रीको संख्या धेरै भएकोले सडकमा पैदल यात्रीलाई प्राथमिकता दिनु पर्ने अन्तर्राष्ट्रिय अभ्यास हो । यो अभ्यास कार्यान्वयन गर्न माग आइरहेको थियो । सोही कुरालाई मुख्य आधार बनाएर महानगर फुटपाथ विस्तार बढाउने कार्यमा सरिक भएको आयोगका उपाध्यक्ष उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी बताउँछन् ।

‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदल मार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको हो,’ उनले भने ।

तर, महानगरको फुटपाथ बढाउने कदमप्रति जनप्रतिनिधि र स्थानीयवासी सहमत हुन सकेका छैनन् । फुटपाथ बढाउँदा न्युरोडको सडक साँघुरो र व्यापारिक क्षेत्रमा अवरोध हुने भन्दै विरोध गरिरहेका छन् । यस क्षेत्रको सडकले ऐतिहासिकता बोकेकाले फुटपाथ बढाउन नहुने स्थानीयवासीको तर्क छ ।

वडा २२ का स्थानीय सुरेश खड्गी यहाँको सडकमा गुड्ने सवारीसाधनलाई धान्न नसकिरहेको अवस्थामा अझ साँघुरो बनाउन नहुने बताउँछन् । ‘स्थानीय सरकार भएकाले स्थानीयवासी र जनप्रतिनिधिसँग प्रत्यक्ष रूपमा छलफल गरेर महानगरले फुटपाथ विस्तार गर्नुपर्थ्यो,’ उनले भने, ‘यहाँका जनताले यतिका विरोध गर्दा पनि जबर्जस्ती गरेमा यसको प्रतिरोध गर्नेछौ । हामीलाई डोजर देखाएर तर्साउन खोजिएको छ ।’

महानगरपालिकाले फुटपाथ कसका लागि विस्तार गर्ने हो त्यसको पुष्टि गर्नुपर्ने उनको भनाइ छ । न्युरोड क्षेत्रका मानिसहरूको आर्थिक अवस्था कमजोर भइरहेकाले अझ फुटपाथ विस्तार थप कमजोर बनाउने उनको बुझाइ छ । महानगरको डोजरले न्युरोडवासीलाई एकपटक पुनः एक ठाउँमा गोलबद्ध रहन सहयोग गरेको उनले बताए ।

‘महानगरले फुटपाथ विस्तारको आवश्यकता, माग र औचित्य पुष्टि गर्नुपर्छ,’ उनले अगाडि थपे, ‘महानगरले सडकमा राखिएको डोजर जबसम्म फिर्ता लाँदैन तबसम्म हाम्रो विरोध निरन्तरता रहन्छ ।’

महानगरका प्रवक्ता नवीन मानन्धरले न्युरोडको सडकमा फुटपाथ विस्तारलाई लिएर विवाद भएकाले अहिले वार्ता भइरहेको जानकारी दिए । उनी भन्छन्, ‘अहिले वार्ता भइरहेको छ । अहिले के निर्णय हुन्छ यसै भन्न सकिन्न ।’


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x