मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई संगीत कक्षा
सांकेतिक फोटो
पाल्पा - अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतीत गर्न थालेका छन् । उनीहरू समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरू बताउँछन् ।
शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप गराउँदै आइरहेको पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास सुरु गरिसकेको छ । बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ । रामपुर नगरपालिका–५ स्थित रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ. समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । यहाँ बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थी हँसिलो मुद्रामा उत्साहित हुँदै सङ्गीत सिकिरहेको दृश्य देख्न सकिन्छ । यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ । विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा सुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउँछन् ।
'घरमा फुर्सदको समय विद्यार्थी मोबाइल, टिभीमा व्यस्त हुने, बिदाको समय सदुपयोग गराउन, मानव जीवनलाई ऊर्जामय बनाउन, विद्यार्थीलाई रचनात्मक कार्य सिकाउन वाद्यवादन कक्षा सुरुवात गरेका हौँ,' उनले भने, 'बिदाको समय भनेर विद्यार्थीले अनावश्यक समय बिताउन पाइरहेका छैनन्, उनीहरुको समय यतिबेला पढाइ र सङ्गीतमा केन्द्रित बनेको छ, विद्यार्थी सक्रिय भएर वाद्यवादन सिकिरहेका छन्, घरमा मोबाइल हेर्ने बानी कम हुँदै गएको छ' ।
विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न वाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । वाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले ५० हजार सहयोग गरेको प्रअ शर्माले बताए । ओकेबाजेको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट गरी करिब रु एक लाखको वाद्यवादनका सामग्री खरिद गरी सङ्गीत कक्षा थालनी गरिएको उनको भनाइ छ । विद्यार्थी तथा अभिभावक, सरोकारवाला निकायले विद्यालय समयमा नै सङ्गीतका लागि छुट्टै कक्षा सञ्चालन गर्न माग आएमा सङ्गीत कक्षा चलाउने प्रअ शर्मा बताउँछन् ।
सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर नभइ समूह बनाएर फरक–फरक खालको बाजा बजाउन सिकाउने गरिएको छ । विद्यालयका सङ्गीतद्वय शिक्षक चोलाकान्ती विक र तुल्सी गौतमलाई वाद्यवादन सिकाइको जिम्मेवारी दिएर कक्षा चलाइरहेको छ । बिदाको समयमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सङ्गीत कक्षा सञ्चालन गरिएको छ । वाद्यवादन कार्यमा कक्षा २ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् । विद्यालयबाट घरमा आएपछि गृहकार्य सकाएर मोबाइल हेर्ने, खेल्ने गरेर समय बिताउने गरेकोमा अहिले विद्यालयले सङ्गीत कक्षा सुरु गरेपछि मोबाइल हेर्ने समय रचनात्मक कार्यमा बिताइरहेको अभिभावक भगवती खनाल बताउँछन् ।
'बच्चाबच्ची घरमा मोबाइलमै व्यस्त हुने, कति कोसिस गर्दा पनि मोबाइल हेर्ने बानी हटाउन सकिएको थिएन, खाना खाँदा पनि मोबाइल नभइ नहुने बानी बसेको छ, अहिले विद्यालयले वाद्यवादन सिकाउन थालेपछि बच्चाहरू सङ्गीत सिक्नमा आकर्षित भएका छन्, विद्यालयले असाध्यै राम्रो कार्य थालनी गरेको छ' अभिभावक खनालले भने ।
विद्यालयमा आएर मादल, हार्मोनियम लगायतका बाजा बजाउन सिक्दा रमाइलो लागेको कक्षा ६ मा पढ्ने छात्र प्रयास अधिकारीले बताए । उनले घरमा गृहकार्य सकाएर विद्यालयमा विभिन्न थरीथरिका बाजा बजाउन सिकिरहेका छन् । अहिलेको समस्या भनेको बालबालिकालाई मोबाइल हेर्न कसरी छुटाउने भन्ने छ । यो समस्याले अभिभावकलाई पिरोलिरहेको हुन्छ । सङ्गीत कक्षाले यो समस्या समाधानमा सहयोग गरेपछि यहाँका अभिभावक खुसी छन् ।
यहाँ सञ्चालन भएको सङ्गीत कक्षा वाद्यवादक भुपराज पौडेलले चलाउँछन् । विद्यालयले यस कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक रचनात्मक तथा सीपमूलक कार्यमा जोड दिएर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताए ।
'कतिपय बाजा तथा गीत, सङ्गीत लोपोन्मुख छन् । लोपोन्मुख कला र संस्कृतिको जगेर्नामा पनि हाम्रो अभियान सहयोगी बन्नेछ' अध्यक्ष गौतमले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया