समाज

प्राधिकरणका प्रवक्तालाई प्रश्‍न

बसका मान्छे मर्दा चालक प्रहरी हिरासतमा, विमान चालकलाई कस्तो कारबाही हुन्छ ?

अतिन आचार्य |
साउन ११, २०८१ शुक्रबार १६:५८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । काठमाडौँबाट पोखरातर्फ उडेको विमान रनवे छोड्नासाथ दुर्घटनामा परी १८ जनाको मृत्यु भयो । ९ एन एमई सिआरजे २०० कलसाइनको विमान रनवे २ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो ।

विमानको 'सी-चेक' परीक्षणका लागि पोखरा उडेको थियो । विमान धावन मार्गनजिकै खसेको र त्यसमा आगो लागेको थियो ।


उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले पनि उनलाई वार्डमा सारेर उपचार गरिरहेको छ ।

त्यसैगरी, सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन भएको छ ।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।

सडक मार्गमा यातायातको सवारीसाधन दुर्घटना सवारी चालकलाई कारबाहीको दायरामा ल्याइने कानुनी व्यवस्था छ । चालकलाई तुरुन्त प्रहरी हिरासतमा राखेर कानुनबमोजिम कानुनी कारबाही अगाडि बढ्छ ।

विमान दुर्घटना भए पनि अहिलेसम्म विमान चालकलाई कारबाही गरिएको थाहा छैन । पहिलो कुरा विमान दुर्घटना भए पनि पाइलट सकुशल हुने चान्स एकदमै न्यून हुन्छ । त्यहीँ भएर पनि होला अहिलेसम्म पाइलटलाई कारबाही गरिएको घटना सार्वजनिक भएको छैन ।

अहिले फेरि सार्वजनिक यातायातका सवारीसाधन दुर्घटना गराउने चालकलाई तुरुन्तै कारबाही हुन्छ । अहिले विमान दुर्घटना भएको छ तर पाइलटलाई कस्तो कारबाही हुन्छ भनेर चर्चा हुन थालेको छ ।

इकागजले पनि यहीँ प्रश्न नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेलाई गरेको छ । दुर्घटना जाँचबुझ आयोग बनिसकेकाले जसले विस्तृत रूपमा छानबिन गर्ने भएकाले त्यसको जरो कारण पत्ता लगाउने काम गर्ने उनी बताउँछन् । विभिन्न तरिकाहरू अवलम्बन गरे दुर्घटना कारण पत्ता लगाउने उनको भनाइ छ ।

‘जाँचबुझ आयोगले भने बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं । आयोगले एयरलाइन्स कम्पनी वा चालकको गल्ती देखाए भने सोही अनुसार कारबाही हुन्छ,’ प्रवक्ता पाण्डेले भने, ‘आयोगको प्रतिवेदनले जस्तो कारबाही गर भन्छ त्यहीँ अनुसार कारबाही प्रक्रिया बढ्छ । प्रतिवेदन अक्षरश पालना हुन्छ । अहिले दुर्घटना भएकाले छानबिन नगरी नियामक निकायले त्यसै कारबाही गर्दैन । प्रतिवेदन नआएसम्म उडान गर्न पनि दिँदैनौँ ।’

उडानका क्रममा विमान चालकले नियम विपरीत काम गरेमा तुरुन्त कारबाही गरिने उनले बताए । उनका अनुसार चालकले चुरोट खाएमा कारबाही भएका छन् । पाइलटले फोटो खिच्दा समेत कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावली ऐन २०५८ अनुसार सजाय हुन्छ ।  

‘पाइलटलाई सजाय प्रमाणीकरण गर्ने भनेको जाँचबुझ आयोग नै हुन्छ,’ उनले अगाडि थपे, ‘आयोगको सिफारिश अनुसार पाइलटलाई मात्र नभइ त्यससँग सम्बन्धित अन्य व्यक्तिलाई पनि कडा कारबाही हुन्छ ।’

ज्यान जाने गरी भएको दुर्घटनामा पाइलट बाँच्ने चान्स धेरै कम भएको उदाहरण रहेको उनले सुनाए । अधिकांश दुर्घटना पाइलटको कारण भएको भनिए पनि मृतकलाई कारबाही नहुने उनले बताए । बाँचेका पाइलटलाई निलम्बनदेखि जागिरबाट निकाल्ने काम गरिएको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x