समाज

मनोहरा खोलाले कटान गरेको ठाउँमा अस्थायी तटबन्ध, अवरुद्ध बाटो खुलाइयो

इकागज |
साउन ११, २०८१ शुक्रबार १८:५१ बजे

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण दुवाकोटबाट खटिएको सुरक्षा फौजले अविरल वर्षाको कारण भक्तपुरको मनोहरा खोलामा आएको बाढीले कटान गरेको ठाउँहरूमा अस्थायी तटबन्ध निर्माण गर्नुको साथै पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ ।

मध्यपुरथिमी नगरपालिका–९ स्थित मनोहरा खोलाले कटान गरेको डिप बोरिङ्गमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यस्तै मध्यपुरथिमी नगरपालिका–९ र काठमाडौँको कागेश्वरी नगरपालिका–७ को बीच भागमा रहेको मनोहरा पुल नजिकैको खाजा घरमा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जेसीबीको सहयोगमा सो ठाउँमा अस्थायी तटबन्ध निर्माण गरेको हो ।


त्यसैगरी मध्यपुरथिमी नगरपालिका–९ स्थित गणेश मन्दिर जाने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अवरुद्ध भएको सडक खुलाइएको हो ।

यसैगरी दिपज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलको संयुक्त आयोजनामा साउन १० गते वृक्षरोपण गरिएको छ ।

चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित वडा कार्यालयको परिसरमा गरिएको वृक्षरोपण कार्यक्रममा नं. २२ गुहेश्वरी गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरीक्षक वासुदेव लोहनीलाई विपद् उद्धार तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गरी वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको छ ।


Author

थप समाचार
x