समाज

कास्कीमा विपद्का घटना : १४ जनाको मृत्यु, चार करोड बढीको क्षति

इकागज |
साउन ११, २०८१ शुक्रबार २०:१ बजे

कास्की- यस वर्षको मनसुन सुरु भएपछि पहिरोमा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिरोका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विपदमा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरोमा परी स्थानीय कुलबहादुर परियारको परिवारका ६ सहित सात जनाको ज्यान गएको थियो । 


पहिरोमा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा  छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो । 

यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रविसेमा ४० वर्षीया आरती ओझोको घर पहिरोमा पुरिँदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरोमा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो । 

गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरोमा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरोमा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार पहिरोका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिरोका कारण एउटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पक्षी मरेका पनि शर्माले जानकारी दिए । विपदबाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ ।


Author

थप समाचार
x