समाज

मनोरञ्‍जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग

इकागज |
साउन ११, २०८१ शुक्रबार २०:५१ बजे

काठमाडौँ- मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

सो क्षेत्रमा कार्यरत श्रमिकहरूको हकहितका लागि काम गर्दै आएको संस्था विश्वास नेपाल र एटविनको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा आयोजना गरिएको मनोरञ्जन क्षेत्रमा हुने बालश्रम, श्रमिकको अवस्था र कानुनी प्रावधान तथा पालेर्मो प्रोटोकलको घरेलुकरणका लागि नीति निर्माताहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदसँगै अन्य सरकोकारवालाहरूले यस्तो बताएका हुन् ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद कमला पन्तले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भएपनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा श्रम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने परेको भन्दै चिन्ता व्यक्त गरिन् । नीति, नियम र कानुन बने पनि कार्यान्वयनको पाटो फितलो हुँदा मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूले विभिन्न समस्या भोग्नुपरेको सांसद पन्तले बताइन् । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्ती राईले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूका पक्षमा आफूले सदनमा जोडतोडका साथ आवाज उठाउने र कानुन कार्यान्वयनमा सरकारलाई दबाब दिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायत मनोरञ्जन क्षेत्रमा श्रम ऐनको कार्यान्वयन अवस्था कमजोर भएको भन्दै सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताइन् । साथै उनले पालेर्मो प्रोटोकलको घरेलुकरणका लागि सांसदहरूको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिइन् । कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूले समाजले हेर्ने दृष्टिकोण, आफूले कार्यस्थल तथा समाजमा भोग्नु परेका समस्या लगायतका विषयमा सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा विश्वास नेपालकी कार्यक्रम व्यवस्थापक कमला सापकोटाले मनोरञ्जन क्षेत्रको अवस्था र राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले मनोरञ्जन क्षेत्रमा कार्यरत बालबालिका र श्रमिकको अवस्थाका साथै कानुनी प्रावधान र पालेर्मो प्रोटोकलका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसाल, नेकपा एमालेका सांसद ठाकुर गैर, पूर्वमन्त्री तथा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, राप्रपाकी सांसद रोशन कार्कीसँगै ट्रेड युनियनका प्रतिनिधि, एटविनकी निर्देशक बेनुमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x