युट्युबलाई पत्रकारिताको धार समाउन सुझाव
काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् ।
आज नयाँ दर्ता भएका सञ्चार माध्यमलाई काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा उनले सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा युट्युबरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् ।
अध्यक्ष बस्नेतले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास तथा समृद्धिको यात्रामा योगदान गर्न नसकिनेतर्फ सबै सचेत हुनुपर्ने बताए । 'देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ,' अध्यक्ष बस्नेतले भने, 'देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभई समाधानका विकल्पसहित प्रश्न उठाउनुपर्छ ।' प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।
काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा दिँँदै आएको छ । आज स्रोत व्यक्तिका रूपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेकी थिइन् । अभिमुखीकरणमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले स्वच्छ र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया