समाज

उपत्यकाको विभिन्‍न ठाउँमा डुबानमा परेकाहरूको उद्धारमा सशस्त्र प्रहरी

इकागज |
साउन १६, २०८१ बुधबार १४:४६ बजे

काठमाडौँ - साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरूको उद्धार गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावरी खोलामा पानीको बहाव बढी डुबानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी  सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ ।


यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको पानी पसेर डुबान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।

अविरल वर्षाको कारण काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित  सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको  सशस्त्र प्रहरी बल  नेपाल नं. १८ निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी  सुरक्षित स्थानमा ल्याइएको हो ।

यसैगरी साँखु भोटेचौर सडक खण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय बासिन्दाले स्काभेटरको सहायताले सुचारु गरेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं . १९ बंगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बागमती नदीमा आएको बाढीले डुबानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।


Author

थप समाचार
x