समाज

अब बानेश्‍वर, त्रिपुरेश्‍वर र भद्रकालीको सार्वजनिक शौचालयमा शुल्क नलाग्‍ने

इकागज |
साउन १७, २०८१ बिहीबार १३:४२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक स्थानका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । एरोशान कम्पनीले  सञ्चालनमा ल्याएको नयाँ बानेश्वरको शौचालय, त्रिपुरेश्वर र भद्रकालीको सार्वजनिक शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् ।

यसअघि तीनै वटा सार्वजनिक शौचालयमा सेवाग्राहीले शुःल्क तिर्दै आएका थिए । काठमाडौँ महानगरपालिकाले तीन ठाउँको शौचालय सञ्चालकसँग सहमति गरेपछि सेवाग्राहीले शुःल्क तिर्न नपर्ने भएको हो ।


महानगरका नगर प्रहरी बद्रीमान नगरकोटीले महानगरको सार्वजनिक स्थानमा सञ्चालनमा रहेका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने गरेर अभियान चलाइएको बताए ।

उनका अनुसार यसअघि शौचालय प्रयोग गरेबापत शुल्क तिर्नु परे पनि अबदेखि तिर्नु पर्दैन । शौचालय प्रयोग गरेबापत सेवाग्राहीले १० रुपैयाँ तिर्दै आएका थिए ।

महानगरले शौचालय सञ्चालकलाई निजी साझेदारी अन्तर्गत अनुदान दिने गरेर छलफल चलिरहेको जनाएको छ । कम्पनीले महानगरसँग शौचालय सफाइ गर्न राखिएको कर्मचारीलाई तलब दिन केही रकम माग गरेको छ ।

‘महानगरसँग आवद्ध भएकाले निजी साझेदारी अन्तर्गत अनुदान दिने भन्ने छलफल भइरहेको छ,’ उनले भने ।

उनका अनुसार सार्वजनिक स्थान, सरकारी निकाय, पशुपति क्षेत्र विकास कोष र गुठी संस्थान गरेर हाल महानगरभित्र ६४ वटा शौचालय छन् ।

बानेश्वरमा भएको सार्वजनिक शौचालयकी एक महिला कर्मचारीले केही दिनको लागि शौचालय प्रयोगको शुल्क नलिने व्यवस्था गरिएको बताइन् । महानगरसँग मिटिङ्ग भएर जे निर्णय आउँछ त्यहीँ अनुसार कार्यान्वयन गराइने उनको भनाइ छ । दैनिक शौचालय प्रयोगकर्ताबाट एक हजार देखि एघार सय रुपैयाँसम्म संकलन हुने गरेको उनले जानकारी दिइन् ।

बानेश्वर र त्रिपुरेश्वरको सार्वजनिक शौचालय अपाङ्गमैत्री रहेको छ । भद्रकालीको शौचालयमा भने अपाङ्गमैत्री छैन ।


Author

थप समाचार
x