समाज

अन्तर्राष्ट्रिय युवा दिवस भव्य रूपमा मनाउन मूल समारोह आयोजक समिति गठन

इकागज |
साउन १७, २०८१ बिहीबार १८:८ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य रूपमा मनाउनका लागि मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलपछि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन गरिएको हो । समितिमा राष्ट्रिय युवा परिषदका पदाधिकारी, विभिन्न युवासम्बन्धी संघसंस्थाका प्रतिनिधिलगायतलाई समावेश गरिएको छ ।


दिवसका अवसरमा अन्तरक्रिया, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रमको आयोजना गर्ने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले अन्तर्राष्ट्रिय युवा दिवसलाई जागरणको रूपमा मनाउनुपर्ने धारणा राखे । उनले विदेशमा रहेका लाखौँ युवाहरूलाई स्वदेश फर्काउने अवस्था सिर्जना गर्न सके युवा दिवसले सार्थकता पाउने उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय युवा दिवसलाई सातै प्रदेशमा, सबै निकायमा आफ्नै मौलिकताका साथ सप्‍ताह रूपमा मनाउने बताए । दिवससंगै साउन २८ र २९ गते राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।


Author

थप समाचार
x