समाज

अमेरिकी दूतावासमा पाउँदैनन् समय, भिसाका लागि भारत र थाइल्याण्ड धाउँदै विद्यार्थी

अतिन आचार्य |
साउन २१, २०८१ सोमबार १७:४ बजे

काठमाडौँ- इटहरीका गणेश कोइरालाले एक वर्षअघि स्नातक तह पूरा गरे । लगत्तै उनले स्नातकोत्तर गर्न अष्ट्रेलिया जाने सोच बनाए । त्यहीँ अनुसार आफ्नो कागजपत्र पनि तयार गरे ।

उनी इटहरीबाट आएर काठमाडौँका विभिन्न कन्सल्टेन्सी धाए । कन्सल्टेन्सीमार्फत कलेज छनौट गरे । तर, उनले सोचेको र भनेजस्तो कलेज र भिसाको लागि समय पाएनन् । भिसाकै समय नपाएकाले निराश बन्दै केही समयलाई विदेश अध्ययनलाई बिराम लगाए ।


पछिल्लो समय उनले अध्ययन गर्न अमेरिका जाने सोच बनाए । पुनः काठमाडौँका कन्सल्टेन्सी र अमेरिकाको भिसा आवेदनका लागि अनलाइन फर्म बुझ्न हिँडे ।

अष्ट्रेलिया जान नपाएका उनले एक पटक अमेरिका जाने दृढ सोच बनाएर काठमाडौँ आए । अमेरिकी दूतावासमा भिसाको अन्तर्वार्ताका लागि समय पाउन मुस्किल भएको उनले गुनासो गरे ।

'दूतावासमा विद्यार्थी भिसाको समय पाउन गाह्रो छ । सन् २०२५ को मार्च, अप्रिलतिर अन्तर्वार्ताको समय पाइएको छ,' उनले भने, 'नेपालमा रहेको अमेरिकन दूतावासबाट समय पाइएन ।'

अहिले उनले भिसा आवेदनका लागि थाइल्याण्डबाट अन्तर्वार्ता दिने योजना बनाएका छन् । उनले अप्लाइ गरेको कन्सल्टेन्सीले नेपालबाट समय नपाइने भएकाले थाइल्याण्डबाट समय लिन सुझाएको सुनाए ।

'साउन ३० गते थाइल्याण्डस्थित अमेरिकन दूतावासबाट अन्तर्वार्ताको मिति तय भइसकेको छ,' उनी भन्छन्, 'नेपालमा रहेको दूतावासबाट समय नपाइने भएकाले उतै जान खोजेको हुँ । अहिले गएर भिसा पाएमा जनवरीदेखि हुने पढाइमा सहभागी हुन पाइन्छ । पढाइ पनि धेरै ग्याप भइसकेको छ ।'

काठमाडौँस्थित दूतावासबाट अन्तर्वार्ता दिन पाएको भए धेरै खर्च नहुने २४ वर्षीय कोइरालाको भनाइ छ । थाइल्याण्ड पुगेर अन्तर्वार्ता दिँदा न्यूनतम् ४-५ लाख रुपैयाँ सकिने उनको अनुमान छ ।

उनले अझ कलेजमा बुझाउने पैसाको हिसाब गरेका छैनन् । काठमाडौँमा अन्तर्वार्ता दिन पाएको भए खर्च जोगिने उनको भनाइ छ । उनी भन्छन्, 'अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता गर्न समय पाउन गाह्रो छ ।'

त्यसैगरी चावहिलका अर्का विद्यार्थी निनम मगरको पनि पीडा उस्तै छ । उनले एक वर्षअघि प्लस टु सकाए । पुतलीसडकको कन्सल्टेन्सीबाट अष्ट्रेलियाका अध्ययन गर्न जान कोसिस गरे । कलेजलाई बुझाउने पैसा पनि जोहो गरेका थिए ।

कन्सल्टेन्सीमा सबै आवश्यक कागजपत्र बुझाए तर अन्तिममा अष्ट्रेलियाले उनको भिसा रिजेक्ट गरिदियो । केही समय यत्तिकै बसे उनी ।

पुनः विदेश अध्ययन गर्न सोच बनाए । अहिले भने उनी अमेरिका जाने तयारीमा छन् । अमेरिकी दूतावासबाट अन्तर्वार्ता गर्न समय पाउन गाह्रो रहेको निनाम बताउँछन् ।

भारतस्थित अमेरिकी दूतावासबाट उनले अन्तर्वार्ताको समय पाएकाले आजै भारत गएका छन् । कन्सल्टेन्सीले भारतबाट समय मिलाएकाले उतैबाट अन्तर्वार्ता दिन लागेको उनले जानकारी दिए ।

'नेपालस्थित अमेरिकी दूतावासबाट समय पाउन गाह्रो छ । भारतबाट समय पाइएकाले उतैबाट अन्तर्वार्ता दिने हो,' उनी भन्छन्, 'अहिले पनि पढ्न जान नपाइएला जस्तो छ । यहाँ नपढेर बसेको समय खेर गइसकेको छ ।'

काठमाडौँमा अन्तर्वार्ता दिन पाएको भए भारतमा जाँदा आउँदा लाग्ने खर्च बच्ने उनको भनाइ छ । 'अहिले भिसाका लागि अप्लाइ गर्दा एक वर्षपछि मात्र समय पाइने अवस्था रहेको छ,' उनले भने, 'अन्तर्वार्ता दिन जाँदा कम्तीमा १ लाख सकिन्छ होला ।'

नेपालस्थित अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता गर्ने समय नपाएर बाहिर गएर अन्तर्वार्ता दिने विद्यार्थीको संख्या बढ्दै गएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराईले नेपालबाट विद्यार्थीले अन्तर्वार्ताका लागि समय नपाएकाले आत्तिएर गएको बताए ।

केही विद्यार्थीहरू छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकमा गएर भिसाका लागि अन्तर्वार्ता गर्न गइरहेको सुनिरहेको उनले बताए । अष्ट्रेलियाले भिसा कडाइ गरेपछि अमेरिकातर्फ जाने विद्यार्थीको संख्या बढ्न गएको उनको भनाइ छ ।

'पछिल्लो समय अमेरिकी दूतावासले अन्तर्वार्ता दिनेहरूको समय मिलाइरहेको छ । विद्यार्थीको संख्या बढ्दा जसरी पनि दूतावासले समयको व्यवस्थापन गरिरहेको छ,' उनले भने, 'पछाडिको समयलाई मिलाएर अगाडि तानिरहेको अवस्था छ । दूतावासमा कर्मचारी अभाव हुँदा पनि भिसाका लागि आवेदन दिनेहरूको अन्तर्वार्ता पर-पर सरेको हुन सक्छ ।'

पर्खन सक्ने विद्यार्थीका लागि भारत जानुपर्ने अवस्था नरहेको उनले खुलाए । दूतावासले अन्तर्वार्ताको समय सकेसम्म मिलाउने गरेको भट्टराईले प्रस्ट पारे ।

अमेरिकी दूतावासले अन्तर्वार्ताको समय मिलाएर सहज गरिदिएमा नेपाली पैसा नबाहिरिने अध्यक्ष भट्टराईले बताए ।

उनका अनुसार अहिले अन्तर्वार्ताका लागि आवेदन दिएमा सन् २०२५ को मार्चमा पाउँछन् । विद्यार्थीले कलेजको प्रभावकारी कागजपत्र देखाएमा दूतावासले अगाडि पनि समय सारिदिएको उदाहरण सुनाए ।

त्यसैगरी, नेपाली विद्यार्थीले अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको समय पाउन छाडेपछि यस समस्याको बारेमा कुरा गर्न खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । फोनमा घण्टी गए पनि सम्पर्क हुन सकेन ।

शिक्षा मन्त्रालयका केशवप्रसाद दाहालले अमेरिकी दूतावासले विद्यार्थीले भिसा आवेदन दिँदा अन्तर्वार्ताको समय नपाएको जानकारी र गुनासो थाहा पाएको बताए । हामीले कुनै पनि मुलुकलाई भिसाको समय देउ भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

उनका अनुसार सबै मुलुकको आ-आफ्नो नियम हुन्छ । मन्त्रालयको तर्फबाट दूतावासलाई केही भन्न सकिन्न । यसका लागि मन्त्रीस्तरीय छलफल हुन सक्छ ।

'दूतावासबाट विद्यार्थीहरूले समय नपाएको विषयहरू माथिल्लो निकायमा राख्नेछु,' उनले इकागजसँग भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x