समाज

यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् राजमार्गको अवस्था

इकागज |
साउन २२, २०८१ मंगलबार १२:२१ बजे

काठमाडौँ- हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । 


विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  मुसलधारे वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको  क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ । 

वर्षाले पहिरो जाँदा विभिन्न राजमार्ग अवरूद्ध भएको छ ।

संखुवासभाको मकालु गाउँपालिका-३ मा बाढीले उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको अझै खुलेको छैन । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा पहिरोले चतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरोध छ ।

महोत्तरीको वर्दिवास नगरपालिका-१ माइस्थानमा पूर्व-पश्चिम लोकमार्ग बाढीले एकतर्फी सुचारू भएको छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका-४ झामार्सीमा रहेको चरिकोट सडक खण्ड पनि पूर्ण रूपमा अवरोध भएको छ । उक्त सडकमा सुचारू हुन एक महिना लाग्ने बताइएको छ ।


Author

थप समाचार
x