समाज

रत्‍नपार्कले सिकाइरहेको अनुशासन

'सडकमा बसेर पनि जीवनोपयोगि शिक्षा पाइने रहेछ'

अतिन आचार्य |
साउन २३, २०८१ बुधबार १३:३९ बजे

तस्बिरहरू - अतिन आचार्य

काठमाडौँ- उहिले ‘न्याय नपाए गोर्खा जानु’ भनिन्थ्यो । यो भनाइ गोरखाका तत्कालीन राजा राम शाहको प्रचलनमा आएको थियो । आज भने यो स्टोरीमा न्यायको होइन अनुशासनको कुरा हुँदैछ । गोर्खाको नभएर काठमाडौँकै हुनेछ । किनभने मानव जीवन, समाज र राष्ट्रलाई अनुशासनको एकदमै महत्त्व छ ।

‘अनुशासन हेर्न कतै पाइएन भने रत्नपार्क जानु’ हिजोआज काठमाडौँमा यो भनाइले सार्थकता पाएको छ । रत्नपार्कबाट गोंगबु–बानियाँटार-सुर्यदर्शनसम्म जाने माइक्रो स्टप अगाडि फरक दृश्य देख्‍न पाइन्छ । वनस्थलीमा पनि काठमाडौँ सुन्धारातर्फ आउन लाइन बसेर आउजाउ गर्नुपर्छ । जसले गर्दा यही कुराले पनि अनुशासन हेर्न सिक्न रत्नपार्कको लाइनले पुष्टि गर्छ ।


जहाँ मानिसहरू एक अर्कालाई ठेलमठेल गर्दैनन् । दौडेर माइक्रो चढ्दैनन् । हातमा बोकेको झोला खस्‍ने गरेर तँछाडमछाड गर्दैनन् । एउटा उछिनेर माइक्रोको ढोकामा पुगि हाल्दैनन् ।

एकनासले मानिसहरू शान्त उभिएका छन् । कसैलाई छुँदैनन् । न कसैको झोलाले कसैलाई डिस्टर्व नै गर्छ । लामबद्ध उभिएका एकनासले हेरिरहेको आँखाले कसैको पर्खाइ भन्ने बुझाउँछ । त्यो पर्खाइ गन्तव्य पुग्न माइक्रोको हो । जसले  त्यहाँ अनुशासन र सभ्यताको प्रतीक देखिने लामबद्ध लाइन रहेको बुझाउँछ ।

अनुशासनको महत्त्व थाहा दिने लाइन

यो मंगलबार साँझ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रत्‍नपार्क अगाडिको दृश्य हो । एक हुल युवायुवती तथा मानिसहरू लाइनमा थिए । त्यही लाइनमा सुमन पौडेल गोंगबु बानियाँटार जाने माइक्रोको पर्खाइमा थिए ।

'२० मिनेट भइसक्यो । कहिले आउँछ, टुंगो भएन । साँझ भइसक्यो,’ उनले भने,’ यहाँ माइक्रो चढ्न लाइनमा बसिएको छ । लाइनमा बसेर वा अनुशासन पालना गरेमा मात्र गाडी चढ्न पाइन्छ ।‘

लाइन बसेपछि माइक्रो चढ्न नपाइने भन्ने मनमा द्विविधा नरहेको उनको भनाइ छ । ‘यहाँ बस्दा अनुशासनको महत्त्व के हो थाहा पाइएको छ,’ जाल्पा चोक जान उभिएका २३ वर्षीय सुमनले उत्साहित हुँदै भने,’ लाइनमा बसेपछि जसरी पनि माइक्रो पाइन्छ । यहाँको लाइन अनुशासनले धेरै कुराहरू सिकाउँछ । सबैमा समभाव र समानताको महत्त्व बुझिन्छ ।

लाइनमा उभिन दुःख भए पनि गन्तव्यमा पुग्न आरामदायी यात्रा गर्न पाइने उनले बताए । ‘भीडभाड र ठेलमठेल गर्नुभन्दा केही समय लाइनमा उभिएर गाडी चढ्न पाउनु राम्रो कुरा हो,’ उनी भन्छन् ।

लाइन बस्नुको फाइदा आफूसँग भएको मालसामान नहराउनेमा विश्वस्त भइने लाइनमा उभिएकी जानुका रम्तेल बताउँछिन् । ‘मेरा आफन्तहरूका यहीँ रुटमा हिँड्नेहरूको मोबाइल र पर्स हराएको छ । गाडी चढ्दा ठेलमठेल तथा भीडभाड मुख्य कुरा हो जस्तो लाग्छ,’ उनले भनिन् ।

काठमाडौँको मध्यभागमा रहेको रत्‍नपार्कमा माइक्रो चढ्न लाइन बसेको दृश्य देख्दा मानिसले धेरै कुराहरू सिक्न सक्छन् । अनुशासन, सभ्यता र धैर्यता सिक्न सकिने ठाउँको रुपमा रत्नपार्कलाई लिइन्छ ।

रत्नपार्कको लाइन जनोपयोगी शिक्षा

उनी लाइनमा बसेर गाडी चढ्न पाउँदा आफूलाई सभ्य र अनुशासित भएको ठान्छिन् ।

‘अनुशासन देखाउन कार्यालय, विद्यालयमा नगइ सडकमा बसेर पनि अनुशासित हुन सकिने ठाउँ यो हो,’ उनले सुनाइन्,’ काठमाडौँमा असभ्य र अनुशासन भंग गर्ने मानिसहरू मात्र बस्छन भन्नेलाई यो लाइनले सभ्य तथा अनुशासितको हो भनेर बुझाउन सहयोग गर्छ ।‘

अनुशासित भएर बस्दा गाडीमा सिट पाइने उनको भनाइ छ । रम्तेलले लाइन बस्न थालेपछि गाडी सहजै पाउने र आफ्नो जीवनमा अनुशासनको महत्त्व थाहा पाएकी छन् ।

रत्नपार्कको लाइन जनोपयोगी शिक्षा लिने ठाउँ भएको उनले बताइन् । ‘मानिस सिक्न नचाहने प्राणी हो र आफूलाई पर्दा मात्र रूवाबासी गर्नेको रुपमा रहन्छन्,’ उनले अगाडि थपिन्,' यो सिकाइको एउटा विद्यालय हो । मानिसले चाह्यो भने जहाँबाट पनि शिक्षा लिन सक्छन् । सायद यो लाइन पनि एउटा सिकाइको सुरुवाती विन्दु हुन सक्छ ।'

माइक्रो चालक रविन केसी पनि लाइन बसेर यात्रु चढ्नुलाई काठमाडौँका सडकमा देखिनेमध्ये दुर्लभ दृश्य मान्छन् । यसरी लाइनमा बसेर चढ्न आउँदा यात्रु सुरक्षित हुने र चालकलाई जिम्मेवार बनाउन सहयोग गर्ने उनको बुझाइ छ ।

उनले रत्नपार्क, गोगंबु र बानियाँटार रुटमा माइक्रो कुदाएको करिब बीस वर्ष हुन लागेको छ । यात्रुहरू यसरी लाइन बसेर गाडी चढेको कहिले नदेखेको अनुभव उनीसँग छ । केही वर्षयता यो रुटमा यात्रा गर्ने यात्रुले लाइन बस्नुपर्ने थिति बसेको उनले बताए ।

‘लाइन बस्दा यात्रुले सडकबाट पाएको ज्ञान र शिक्षा घरसम्म पुर्‍याउने छन्,’ उनले अगाडि थपे,’ लाइन बस्नु भनेको एउटा मानिसले गर्नुपर्ने कर्तव्य हो । लाइनमा बस्दा को सानो को ठूलो वा महिला वा पुरुष भनेर कहिल्यै छुट्याउँदैन। लाइनमा बस्नेले जसरी पनि सिट पाउँछन् । लाइन बस्नुको धेरै फाइदा जसले मानिसलाई सबैभन्दा बढी अनुशासनमा राख्न सिकाउँछ ।‘

रत्नपार्कमा लाग्ने यात्रुको लाइनबाट राजनीतिक दलका नेताले पनि धेरै कुराहरू सिक्न सक्ने चालक श्रेष्‍ठ बताउँछन् । 'हामी जस्ता चालकलाई धेरै जिम्मेवारी बनाएको छ,' भन्छन्,’ यो लाइनमा ठूलो शक्ति अनुशासन छ । अनुशासनमा बसेर गरेको कार्यले सफलता पाउने र चाहेको पाउन सकिन्छ । लाइनमा बसेका यात्रुले सिट पाउँछन् । लाइनमा नबसेकाले सिट पाउँदैनन । अनुशासनले प्राप्त गर्न सिकाउँछ ।‘

साँझ र बिहान सभ्य नागरिकको पहिचान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले रत्नपार्कमा माइक्रो चढ्न उभिएका नागरिकलाई सभ्य नागरिकको संज्ञा दिए । रत्नपार्कमा लागेको लाइनले समझदार र सभ्य नागरिकले सधैँ अनुशासनको पालना गर्ने  उनले बताए ।

यात्रुहरू माइक्रो तथा बस चढ्न तछाडमछाड गर्न मात्र नभइ अनुशासन देखाउन सक्नेहरू पनि छन भन्ने रत्नपार्कको लाइनले बुझाउने उनको भनाइ छ । सडकमा यात्रा गर्ने सर्वसाधारण नागरिकले माइक्रो चढ्ने लाइनबाट धेरै कुराहरू सिक्न सक्ने उनको भनाइ छ ।

‘यात्रुहरू रत्नपार्कमा लाइन लागेर माइक्रो चढ्न थालेको निकै भयो,’ उनले भने,’ त्यहाँको लाइन सभ्य नागरिकको हो । ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमन गर्छ । यात्रुहरू तोकिएको आरक्षण कोटाको सिटमा बसेको छन वा छैनन् । यदि यात्रु त्यसरी बसेका छैनन् भने माइक्रो वा बसलाई कारबाही गरिन्छ । ‘

यात्रु आफूले सभ्य नागरिक र असल नागरिकको परिचय दिइरहेको प्रवक्ता खड्काले बताए । सार्वजनिक यातायातमा यात्रा गर्दा सबै यात्रुहरू जिम्मेवार रहन पनि उनले सुझाव दिए ।

मुलुकलाई पद्धतिको पाठ सिकाउने लाइन

विवेकशील साझा पार्टीका युवा नेता तथा अधिकारकर्मी प्रकाशचन्द्र परियार रत्नपार्कको लाइनले मुलुकमा पद्धति बसाउँदा पद्धति बसाउन सकिने रहेछ भन्ने गतिलो उदाहरण रहको बताउँछन् ।

राम्रो काम गर्न खोज्दा सबैले मान्ने र आफूलाई सहज हुने कुरामा सबै जनाको साथ र समर्थन रहने उनको भनाइ छ ।

‘यसरी लाग्ने लाइनले यात्रुलाई मात्र नभइ चालकलाई पनि जिम्मेवार बनाउँछ,’ उनले भने,’ चालकहरू तीव्र गतिमा कुँदाएर पालो मिच्दैनन् । गाडीमा धैर्य गरेर चढेका यात्रुहरू छन् । जसको शक्ति उसको भक्ति भन्ने प्रथा हटेर जान्छ ।‘

नियममा बस्दा गाडी चढ्न भागदौड गर्न नपरेको उनले बताए । साँझ र बिहान माइक्रो चढ्न ठेलमठेल गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

सडकमा माइक्रो चढ्न लागेको लाइनले समग्र क्षेत्रमा अनुशासन कायम हुन लागेको भनेर बुझ्नुपर्ने अवस्था नआइसकेको परियारले बताए ।

‘सँगसँगै चालक र सहचालकको बोली व्यवहारमा परिवर्तन हुनुपर्छ । धैर्यतापूर्वक गन्तव्यमा पुग्न खोजेका यात्रुलाई सह-चालकले दुर्व्यवहार तथा नमिठो भाषामा व्यवहार गरेको सुनिन्छ,’ उनी भन्छन्,’ यो एउटा प्रयासले भने केही न केही सकारात्मक सन्देश दिएको छ । यसले यात्रु तथा व्यवसायीलाई थप जिम्मेवार बनाउनेछ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x