समाज

पटक-पटक बन्द भएको रात्रि बस किन चलाउन खोज्दै छ काठमाडौँ महानगर ?

महानगर भन्छः बजेट छुट्याएर अध्ययन गर्ने तयारीमा छौं

अतिन आचार्य |
साउन २५, २०८१ शुक्रबार १५:७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्‍यो ।

गत जेठ ३२ महानगरका मेयर बालेन्द्र शाहले उक्त नीति तथा कार्यक्रममा उपत्यकाभित्र रात्रि बस सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताएका थिए ।


उनको त्यो उद्घोष महत्त्वाकांक्षी भए पनि यसअघि महानगरले पहिलो र दोस्रो पटक गरेर रात्रि बस सञ्चालनमा ल्याइसकेको छ । झण्डै एक दशकअघि महानगरले रात्रि बस चालु गरेको थियो । अहिले भने त्यो पूर्ण रुपमा बन्द छ ।

महानगरका पूर्व मेयर विद्यासुन्दर शाक्यको पालामा रात्रि बस चलेको थियो । ती यातायातहरू पहिलो चरणमा राति ८ देखि ११ बजेसम्म सञ्चालनमा आएका थिए । तर केही समयपछि पुनः बन्द भएका थिए ।

महानगरभित्र रात्रि बस चलाउन भने सहज छैन । यसअघि यातायात व्यवसायी र महानगरको तालमेल नमिल्दा केही समयमै काठमाडौँका सडकमा गुड्न सकेनन् ।

अहिले फेरि महानगरभित्र रात्रि बस चर्चा सुरु भएको छ । असफल भइसकेको योजना महानगरले यसपटक किन सार्वजनिक रुपमै उद्घोष गर्‍यो ? सस्तो प्रचारमूखीको लागि हो वा कस्ता समूहका मानिसलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागेको हो ?

रात्रि बस सञ्चालन गर्दा यात्रुहरू भेट्ने आधार छैन । कस्ता-कस्ता यात्रुका लागि  यातायात चलाइनु पर्ने हो त्यसको अध्ययन छैन । उद्योग-कलकारखना, रात्रिकालीन कार्यालय र अन्य व्यवसाय नभएकाले रातको समयमा यात्रु भेट्न गाह्रो छ । होटल तथा रेष्टुरेण्टका स्टाफ ओसारपसार आफ्नै सवारीसाधनमा हुन्छन् । असफल भएको सेवा महानगरले नीति तथा कार्यक्रममा किन घोषणा गर्‍यो ?

महानगरपालिकाले रात्रि बस सुचारु गर्न अध्ययनका लागि बजेट पनि छुट्याइसकेको छ । महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले महानगरपालिकाले रात्रिकालीन सार्वजनिक यातायात सुचारु गर्न रणनीति बनाइरहेको बताए । महानगर भित्रका व्यवसाय र जीवनलाई चलायमान गराउन यातायात सञ्चालन गर्न प्रबन्ध मिलाउन लागिएको उनी बताउँछन् ।

‘रात्रिकालीन सार्वजनिक यातायातको सेवा अध्ययन गर्न महानगरले बजेट पनि छुट्याइसकेको छ । एक डेढ महिनामा अध्ययन गर्छ । कन्सल्टयान्ट हायर गरेर अध्ययन गर्ने तयारी भइरहेको छ,’ उनले भने,’ सेफ्टी अडिटको कुरालाई पहिलो प्राथमिकतामा राखेका छौं । अध्ययन टोलीको निष्कर्ष अनुसार काम अगाडि बढ्छ ।‘

 व्यवसायीलाई फाइदा पुग्ने भाडादर कायम होस

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा महासचिव सरोज सिटौला महानगरले रात्रिकालीन समयमा यातायात सञ्चालन गर्नु सकारात्मक कुरा रहेको बताउँछन् । कार्यान्वयन पक्षलाई कतिको व्यवहारिक तरिकाले लागू गर्ने त्यसलाई हेर्न बाँकी रहेको उनले बताए ।

समग्र क्षेत्र चलायमान नभएको अवस्थामा सडकमा खाली सवारीसाधन सञ्चालन गरेर मात्र नहुने उनको भनाइ छ ।

‘व्यवसायीलाई रात्रिकालीन समयमा सवारीसाधन सञ्चालन गर्न कुनै समस्या छैन,’ उनले भने,’ यातायात व्यवसायी टिक्नुपर्छ । विदेशमा जस्तो रातभर चलायमान हुने उद्योग कलकारखाना यहाँ छैन । यात्रुहरू रातको समयमा कहाँबाट आउँछन्? राज्यले सबै क्षेत्रलाई चलायमान बनाए पो मानिसहरू बाहिर निस्कन्छन् र रातको समयमा रात्रिकालीन यातायातको साधन प्रयोग गर्नेको संख्या बढ्छ ।'

एक-दुई जना होटल तथा रेष्टुरेण्टका ग्राहक बोकेर मात्र सार्वजनिक यातायातलाई केही फाइदा नहुने महासचिव सिटौलाको भनाइ छ ।  रात्रिकालीन व्यवसायमा जाने आउने ग्राहकले सधैँभरि सार्वजनिक यातायातको प्रयोग गर्छन् भन्ने कुनै ग्यारेन्टी नरहेको उनले प्रस्ट पारे ।

रात्रिकालीन समयमा यात्रु बोक्ने भाडादर तोकिनु पर्ने उनले बताए । एउटा यात्रु बोकेको न्यूनतम् सय रुपैयाँ लिएमा व्यवसायीलाई राहत हुने उनले उल्लेख गरे । सवारीसाधनको कर्मचारी र इन्धन खर्च पनि नउठ्ने उनको दाबी छ ।

रात्रिकालीन सवारीसाधन व्यवसायी, चालक, सहचालकको र यात्रुको सुरक्षा ग्यारेण्टीसमेत हुनुपर्ने सिटौलाले धारणा राखे । ‘बाहिरबाट आएका यात्रुले रातको समयमा जुनसुकै स्थानबाट सार्वजनिक यातायात पाउने गरी व्यवस्था लागू गर्नुपर्छ,’ उनले अगाडि भने,’ टयाक्सीबाट पाँच सय रुपैयाँ लाग्ने ठाउँमा एक सय रुपैयाँ तिरेर आफ्नो गन्तव्यमा पुग्न सक्ने हुनुपर्छ ।‘

राति यातायात सञ्चालन गर्न निश्चित समय तोकिनु पर्ने उनले बताए । राज्यको सार्वजनिक यातायात नभएकाले निजी क्षेत्रले घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने सिटौलाले बताए ।  व्यवसायीले बैंकको किस्ता, गाडी मर्मत र स्टाफलाई दिने खर्च निकाल्नुपर्ने उनले बताए । रातिको समयमा चढ्ने यात्रुहरू धेरै नहोलान् र सरकारले अनुदानसहित आएमा व्यवसायीलाई सहज हुने उनले धारणा राखे ।

रातको समयमा यातायातसँगै अन्य क्षेत्र चलयामान बनाऔँ

ठमेल र दरबारमार्गलाई रात्रिकालीन व्यवसायको हब मानिन्छ । निजी तथा सार्वजनिक यातायात चढेर साँझ दुवै स्थानमा ग्राहकहरू पुग्छन् । रातको समयमा यातायातको पहुँच भएमा ग्राहकलाई अझ बढी सहज हुने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारी बताउँछन् ।

‘ग्राहकहरूलाई भाडाका टयाक्सी चढ्न भन्दा सार्वजनिक यातायातमा सस्तो हुन्छ,’ उनले भने,’ रातको समयमा गन्तव्यमा सय रुपैयाँ तिरेर पुग्न सक्ने भए झन राम्रो हुन्छ  । उनीहरूको समय र थप पैसा बचत हुन्छ । सकारात्मक कदम रहेको छ ।‘

ग्राहकले राति सार्वजनिक यातायात नपाउँदा ठमेल र दरबारमार्गबाट महँगो भाडा तिरेर घर जान बाध्य रहेको उनले यथार्थ सुनाए । निश्चित समय र चढ्ने तथा ओर्लने स्थान पनि तोकिनु पर्ने उनले माग राखे ।

सरकारले रातको समयमा अन्य क्षेत्रलाई चलायमान बनाउन सकेमा सार्वजनिक यातायात सञ्चालन गरेको प्रभाव बढेर जाने उनको भनाइ छ । रातिको समयमा यातायातहरू सहजै पाउन सक्ने अवस्था हुनुपर्ने उनले धारणा राखे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x