काेभिडविरुद्धकाे खाेप : ललितपुरले लगायाे, काठमाडाैँ कुरेकाे कुर्यै
महामारीमा पनि अभिभावक बन्न सकेनन् विद्यासुन्दर
काठमाडौँ : उपत्यकाको संघीय राजधानीभित्र रहेको काठमाडौँ महानगरपालिका महामारीमा सबैभन्दा शक्तिशाली बन्नुपर्ने थियो तर भएको छ ठीक उल्टाे । विद्यासुन्दर शाक्य प्रमुख रहेको याे महानगरमा नै सबैभन्दा बढी जोखिम उमेर समूहका मानिस कोभिडविरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् ।
भारतबाट नेपालमा दुई पटक खोप ल्याउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्री थिए । उनी एमालेको समर्थनबाट निर्वाचित थिए । शाक्यले राजनीतिक संवाद गरेर भए पनि महानगरबासीका लागि खोप उपलब्ध गराउन सक्थे तर गरेनन् । प्रधानमन्त्रीसमक्ष सम्पर्क गरी खोप व्यवस्था गरिदिन उनले आग्रह गर्न सक्थे तर गरेनन् ।
तर, यतिखेर महानगरभित्र कोभिड संक्रमितको संख्या र मृत्युको तथ्यांक सार्वजनिक गर्दै बसिरहेकाे छ । यो समाचार तयार पार्दासम्म महानगरभित्र कोभिड-१९ कै कारण ४७५ जनाको मृत्यु भइसकेको छ । कोभिडविरुद्धको कोभिसिल्डको पहिलो डाेज लगाएका ४८ हजारभन्दा बढी ज्येष्ठ नगारिक दोस्रो डोजको प्रतीक्षामा रहेका छन् ।
उपत्यकामा केन्द्र सरकारपछि सबैभन्दा शक्तिशाली काठमाडौँ महानगरपालिका छ । महामारीमा स्थानीय सरकारबाट आशा गरेबमोजिम महानगरबासीले अभिभावको साथ नपाएको गुनासो व्यापक छ । शाक्य मेयर बने तर, महामारीमा अभिभावक बन्न सकेनन् ।
सँगै छिमेकीको रुपमा रहेको ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका ज्येष्ठ नागरिकलाई बुधबार खोप लगाएको छ । ललितपुर महानगरले स्वास्थ्य कार्यालय ललितपुरसँग समन्वय गरी आफ्ना महानगरबासीलाई खोप उपलब्ध गराएर काठमाडौँ महानगरपालिकाको अकर्मण्यता छताछुल्ल पारिदिएको छ ।
'४८ हजार भन्दा बढी ज्येष्ठ नागरिक दोस्रो खोपबाट वञ्चित'
नयाँलाई खाेप उपलब्ध गराउनु त परको कुरा काठमाडौँ महानगरपालिकासँग कति नागरिक कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा रहेका छन्, त्यसको यकिन तथ्यांकसमेत छैन । महानगरपालिकाभित्र ४८ हजार मानिसले कोभिडविरूद्धको खोप लगाएको तथ्यांक रहेको महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख हरि कुँवर बताउँछन् ।
अस्पतालमा गई खोप लगाएका मानिसको तथ्यांक नराखिएको कुँवरले बताए । 'अस्पतालमा लगाएका मानिसको सम्पूर्ण तथ्यांक स्वास्थ्य कार्यालय काठमाडौँले राखेकाले हामीलाई सम्पूर्ण जानकारी छैन,' उनी भन्छन् ।
स्वास्थ्य मन्त्रालयमा महानगरपालिकाभित्र दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइदिन आग्रह गरिसकेको कुँवरको भनाइ छ । 'स्वास्थ्य सेवा विभाग, खोप महाशाखामा सबैतिर खोपका लागि आग्रह गरिसकेका छौ,' उनी भन्छन,' सबैले खोप नभएकाले हामीले उपलब्ध गराउन नसक्ने आश्वासन मात्र प्राप्त गरिरहेका छौ ।'
स्वास्थ्य कार्यालय काठमाडौँसँग खोप नभएकाले महानगरबासीलाई खोप लगाउन नसकिएको कुँवर स्वीकार्छन् । महानगरबासीलाई खोप नछुटाउनका लागि वडा-वडामा खोप अभियान चलाइएको उनले बताए ।
'स्वास्थ्य मन्त्रालयमा खोपका लागि पटक-पटक आग्रह गरेको छु'
ज्येष्ठ नागरिकले कोभिडविरुद्धको दोस्रो डोज खोप नपाएकाप्रति महानगर गम्भीर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् । स्वास्थ्य कार्यालयसँग सम्पर्क गर्दा खोप नभएको जवाफ पाउने गरेको उनले सुनाए ।
'स्वास्थ्य मन्त्रालयमा पटक-पटक खोपका व्यवस्थापन गरिदिनका लागि आफैँ गएर प्रस्ताव गरेको छु,' शाक्य भन्छन, प्रधामन्त्री कार्यालयदेखि खोप महाशाखा र स्वास्थ्य कार्यालय काठमाडौँमा पत्र पठाएका छौ ।'
केही दिन अघि मेलम्चीको बाढी पहिरो अवलोकन गर्न जाँदा निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्लाई खोपको व्यव्थापन गरिदिन आग्रह गरेको शाक्यले जानकारी दिए । मुलुकमा कोभिसिल्ड खोप छैन यदि खोप आएमा पहिलो प्राथमिकतामा महानगरबासीलाई राख्ने व्यवस्था मिलाउने उनले प्रस्ट पारे ।
'घर-घरमा खोप लगाउनुपर्छ'
महानगरले महानगरबासीको घर-घरमा गएर खोप लगाउने व्यवस्था गरिदिएर ज्येष्ठ नागरिकलाई सुरक्षित राख्नुपर्ने महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् । मेयरसाबले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खोपको व्यवस्था नगर्दा कोभिडविरुद्धको दोस्रो डोज खोप लगाउनबाट छुटेको उनको आरोप छ ।
'विभिन्न पेसाका मानिसले कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएका समाचार बाहिर आइरहेका छन,' उपप्रमुख खड्गी भन्छिन,' महामारीमा मेयर बनिरहनुभयो तर, अभिभावक बन्न सक्नु भएन ।'
महानगरले समयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेको भए थोरै संख्यामा भए पनि ज्येष्ठ नागरिकले खोप पाउने उनले विश्वास व्यक्त गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया