समाज

अन्तर्राष्ट्रिय युवा दिवसमा कसले के भने ? (भिडियो)

इकागज |
साउन २८, २०८१ सोमबार १२:४४ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित युवा सम्मेलन २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारेका छन् । दिनानुदिन विदेश पलायन भैरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको उनले बताए ।


उनले नेपालमा भएका प्राकृतिक संभावनाहरुलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा  युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समृद्ध मुलुक बनाउनका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको बताए । उनले नेपालमा १६ देखि ४० बर्ष उमेर समूहको जनसंख्या ४२ दशमलव ५६ रहेको भन्दै युवा परिचालनलाइ प्रविधिसंग जोडेर राष्ट्र निर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले संविधानमा मौलिक हकको रुपमा रहेको  शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाले नेपाली जनशक्तिलाई नेपालमा परिचालन गर्नका लागि उद्यमशिलताको वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

अगष्त १२ लाई हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको छ । नेपालमा भने पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । 


Author

थप समाचार
x