समाज

चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनको आम्दानी ४ करोड बढी

इकागज |
साउन ३१, २०८१ बिहीबार १४:१२ बजे

काठमाडौँ- चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले ४ करोडभन्दा बढी आम्दानी गरेको छ ।

उक्त सामुदायिक वनले वन्यजन्तु अवलोकन गर्न पर्यटकबाट आम्दानी गर्ने गरेका छन् । उक्त वनमा पर्यटकहरू दुर्लभ एक सिंगे गैँडा, पाटे बाघ र विभिन्न वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त वनमा पर्यटकहरू वर्षभरी नै जीप सफारी, हात्ती सफारीका लागि जाने गरेका छन् । उक्त वनमा दुई वटा मचान पनि रहेको छ उक्त मचानमा गएर पर्यटकहरूले रात बिताउने र वन्यजन्तु अवलोकन पनि गर्ने गर्दछन् ।


पहिले १५० देखि २ सयको हाराहारीमा जीप वनमा सफारीका लागि जाने गरेकोमा अहिले बिहान ३० र बेलुका ३० वटा गरी दैनिक ६० वटा जीप पर्यटक लिएर जाने गरेको उक्त वनका अध्यक्ष गणेश श्रेष्ठले बताए । उक्त वनको आम्दानी वार्षिक ४ देखि ५ करोड रुपैयाँसम्म हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

वनबाट भएको आम्दानी मानव र वन्यजन्तु संरक्षणका साथै मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाउन वन सिमानामा कंक्रिट वाल लगाउनेदेखि उक्त क्षेत्रको शिक्षा स्वास्थ्यमा खर्च गर्ने गरेको उनले बताए । उक्त वनको आम्दानीबाट उक्त वन क्षेत्रमा रहेका बासिन्दाहरूलाई खानेपानी जडानका लागि प्रतिघर ६ हजार रुपैयाँ, सुत्केरी पोषणका लागि बिरामी परेमा ५ हजार रुपैयाँ र दूध किसानहरूलाई प्रतिलिटर १ रुपैयाँ अनुदान दिने गरेका छन् । वनको आम्दानी वन उपभोक्ताहरूको हितका लागि नै खर्च गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए । 


Author

थप समाचार
x