समाज

प्रविधिमैत्री शिक्षाका लागि नीतिगत परिवर्तन गर्न सरकारसँग अनेमसंघका युवाहरूको आग्रह

इकागज |
भदौ ४, २०८१ मंगलबार १९:१४ बजे

काठमाडौँ- अखिल नेपाल महिला संघ (अनेमसंघ) मा रहेका युवाहरूले प्रविधिमैत्री शिक्षाका लागि नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरेका छन् ।

राज्यको नीतिगत दुविधाका कारण युवालाई प्राविधिक शिक्षा दिन नपाएको भन्दै उनीहरूले नीतिगत परिवर्तनको लागि आग्रह गरेका हुन् । अनेमसंघ केन्द्रीय युवा कमिटीले काठमाडौँमा आयोजना गरेको दिगो विकासको आधार प्रविधियुक्त व्यावसायिक शिक्षा र रोजगार विचार गोष्ठीमा सहभागी युवाहरूले यस्तो आग्रह गरेका हुन् । 


गोष्ठीमा प्रमुख वक्ताका रूपमा आमन्त्रित सिटिइभिटीका पूर्व उपाध्यक्ष खगेन्द्र अधिकारीले कानुन संशोधनको अभाव र शिक्षा आयोगको अव्यावहारिक नीतिका कारण युवाहरू विदेश पलायन भएको प्रसंग उठाएपछि सहभागीहरूले यस्तो आह्वान गरेका हुन् ।

कार्यक्रममा अर्का वक्ता युवा स्वरोजगार कोषका पूर्व कार्यकारी उपाध्यक्ष कल्याण रोकाले प्राविधिक शिक्षाका अभावमा वैदेशिक रोजगारीमा गएकाहरूले समेत विभिन्न समस्या झेल्नुपरेको बताउँदै व्यावसायिक शिक्षा र रोजगारी व्यवस्थित नगर्दासम्म दिगो विकास सम्भव नरहेको बताए ।

कार्यक्रममा सहभागी युवाहरूले अव पार्टी, मन्त्रालय, आयोग र सरोकारवालाहरूले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सीता पौडेल, अनेमसंघ उपाध्यक्ष शर्मिला कार्की, सुमित्रा विसि, महासचिव पेम्वा लामा लगायतका नेताहरूले युवाका प्राथमिकताका विषयलाई पार्टीमा लैजान र मुख्य एजेण्डा बनाउन आफूहरूले मध्यस्थताको भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कुल जनसंख्याको ४१ प्रतिशतभन्दा बढी ओगटेको युवाको मुद्दा कुनै पनि राजनीतिक दलले प्राथमिकतामा नपारेकै कारण युवाहरू विदेश पलायन हुने गरेको उनीहरूको भनाइ छ । 


Author

थप समाचार
x