समाज

अनेमसंघले एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने महिलाहरूले गरेका कामको अभिलेख राख्‍ने

इकागज |
भदौ ८, २०८१ शनिबार १५:२ बजे

काठमाडौँ- अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेकपा एमालेका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने महिलाहरूले गरेका कामको अभिलेख राख्ने भएको छ ।

पार्टीले अवसर दिएर संसदमा प्रतिनिधित्व गरेका सांसदहरूले महिलाका पक्षमा गरेका कामहरूको अभिलेख राख्ने भएको हो । अखिल नेपाल महिला संघ केन्द्रीय संसदीय विभागले आयोजना गरेको संसदमा महिला सांसदहरूको प्रभावकारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनेमसंघका नेताहरूले सोबारे जानकारी दिएका हुन् । 


विभाग प्रमुख विजुला रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकारको सुनिश्चितता संविधानमा व्यवस्था गरिएको भए पनि त्यसमा कुन सांसदको कस्तो भूमिका रह्यो भन्ने अभिलेख नभएको बताइन् । नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टाराईले अनेमसंघको यस्तो भूमिकाले महिला सांसदहरूलाई अझ प्रभावकारी भूमिका खेल्न सघाउने बताए ।

संसदमा विगतका सांसदहरूले खेलेको मुख्य भूमिकाको चर्चा गर्दै नेता भट्टराईले महिलाको एजेण्डा महिलाले मात्रै बोल्ने नभइ संसदमा आफ्ना मुद्दा अन्य सांसदलाई पनि बोल्न बाध्य बनाउने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे । उनले संसदमा महिला समन्वय समिति बनाउने व्यवस्था भएकाले त्यसलाई सक्रिय बनाइनु पर्ने बताए ।

कार्यक्रममा अनेमसंघ इन्चार्ज सीता पौडेलले महिला सांसदहरूले आफ्ना एजेण्डा पारित नहुँदा सबै उठेर विरोध जनाउने र आफ्ना एजेण्डामा बहुमत बनाएर संसदमा कुरा राख्ने अवस्था निर्माण गर्न सांसदहरूलाई सुझाव दिए । उनले विषयगत विज्ञता हासिल गर्न  र विषय अध्ययन गरेर डाटामा बोल्ने बानीको विकास गर्न सांसदहरूलाई आग्रह गरे ।

अनेमसंघ अध्यक्ष  टुका भद्रा हमालले जनताका समस्या समाधान गर्नका लागि माननीय बनाएको भन्दै समय व्यवस्थापन गरेर अध्ययन गर्न र आफ्ना कुरा संसदमा निर्भीक ढंगले राख्न आग्रह गरिन् । उनले सांसदहरूलाई त्यसका लागि अनेमसंघसँग समन्वय र सहकार्यका लागि आह्वान गरिन् ।

कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरू, अनेमसंघका महासचिव पेम्बा लामासहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x