समाज

सडकमा निहत्था नागरिकमाथि नगर प्रहरीको ताण्डव !

'नगर प्रहरीकै लुगा च्यातिएको छ, अस्पताल अगाडि फोहोर भयो'

अतिन आचार्य |
भदौ ९, २०८१ आइतबार १२:१ बजे

काठमाडौँ- आइतबार बिहान गंगालाल हृदय रोग अस्पताल  केन्द्र अगाडि सडक पेटीमा चिया बिक्री गर्ने व्यक्तिलाई काठमाडौँ महानगरका प्रहरीले लछारपछार गर्‍यो । यतिखेर प्रहरीले तानेर गाडीमा हालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिहान ६ बजे अस्पताल अगाडि गेटबाट चिया बेच्ने व्यक्तिलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । नगर प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको परिचय खुलाइएको छैन ।


भिडियोमा नगर प्रहरीले अमानवीय र अमर्यादित तरिकाले ती व्यक्तिलाई गाडीमा उठाएर हालेको देखिन्छ । पीडा भाव व्यक्त गर्दै ऐया-ऐया भन्दै कराएका छन र  नगर प्रहरीको समूहले उनलाई जबर्जस्ती गाडीमा हालेका छन् । भिडियोमा नगर प्रहरीको टोली पाँच- छ जना पुगेको देखिन्छ ।

पटक-पटक नगर प्रहरीले सडकमा गरी खाने वर्गलाई जबर्जस्ती बल प्रयोग गर्ने गरेको घटना सार्वजनिक भइरहन्छ । आखिर सोही व्यवहार पनि नगर प्रहरीले मर्यादित र सभ्य तरिकाले प्रस्तुत गर्न सक्थ्यो । महानगरको नीति विपरीत कार्य गरे तत्कालै कारबाही गर्न सक्ने व्यवस्था पनि छ । महानगरलाई सभ्य र समृद्ध बनाउन अभियानमा लागेका नगर प्रहरीले किन बल प्रयोग गर्छन् ?  

आखिर के का लागि सडकमा नगर प्रहरीको बल प्रयोग गरे ? महानगरको कुन ऐनले नागरिकलाई नियन्त्रणमा लिने अधिकार दिन्छ ? अहिले भने  उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा नगर प्रहरीको तीव्र आलोचना भइरहेको छ ।

पत्रकार गजेन्द्र बुढाथोकी सामाजिक सञ्जाल एक्स ट्वीटरमा प्रश्न गर्छन्,’ मैले बारम्बार गरेको प्रश्न नगरप्रहरीलाई मान्छे समाउने अधिकार कुन कानुनले दिन्छ सरकार ?’

 

विनोद न्यौपाने पनि सामाजिक सञ्जालमा लेख्छन्,’ नगरप्रहरीलाई मान्छे समाउने अधिकार कुन कानुनले दिन्छ सरकार ? अर्को , यो बालेन भन्ने जाँ... राजा हो ? सोध्छ , भैरे !’

उकालो डट कमका सम्पादक सुजित महतले पिता तथा पुर्खाले राज्यश्रोत दोहनमार्फत जोडेको सम्पत्तिमा मोज गरिरको साँढेले एकाबिहानै थर्मस खोस्ने आततायीक‍ो समर्थन गर्नु अनौठो नभएको बताएक छन्  ।

‘ घूस खाएर ढुस्स भएको किर्नो र तिनका सन्तानको मन त्यस्तै नै हो । दुवैमा नपर्नेका पनि ती दुईको जस्तो विचार सुन्दा चै अचम्मै लाग्छ,’ उनले भनेका छन् ।

त्यसैगरी अर्का पत्रकार ज्ञानेन्द्र खड्का उक्त भिडियो फेसबुकमा पोष्ट गर्दै लेख्छन् यो तालिवानी शैलीको सधैँ विरोध गरिन्छ । आक्रोशित हुँदै नगर प्रहरीलाई लक्षित गरी लेख्छन्,’ नगर प्रहरी लुटेरा ग्याङ हो । मान्छे समाउने अधिकार कसले दियो ।‘

महानगरले पटक-पटक अस्पतालको गेट अगाडि बसेर चिया बिक्री नगर्न अनुरोध गरेको थियो । अस्पताल वरिपरिका होटल तथा अस्पतालले बाटामा बसेर खुला रुपमा चिया बिक्री गर्नेले फोहोर गरेको भन्दै महानगरमा उजुरी परेको थियो ।

सोही अनुसार महानगरका प्रहरीले बाटामा लछारपछार गर्दै ती व्यक्तिलाई गाडीमा हालेको देखिन्छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एकजना निहत्था व्यक्तिलाई त्यसरी लछारपछार गर्न पाइन्छ भन्दै इकागजले प्रश्न गरेको छ ।

‘हामीले जबर्जस्ती गरेका छैनौं। पटक-पटक नगर प्रहरीले सम्झाएको छ । यो आज बिहानको घटना हो ।  हाम्रो प्रहरीमाथि हातपात भएको कसैले भिडियो खिचेन । एक जना सही साबको युनिफर्म च्यातिएको छ । हामीले गरेको मात्र भिडियो खिचेर सार्वजनिक गर्‍यो । उनीहरूले हातपात गरेको खै।‘

अस्पतालले हामीलाई खबर गरेर बिहानै नगर प्रहरी पुगेको पाण्डेले जानकारी दिए । ‘नियन्त्रणमा लिएको मानिसलाई मेरो सम्पर्कमा ल्याउनु भनेको छु,’ उनले भने,’ अटेर गरेर जर्बजस्ती गरेर हिँडेका छन् । सार्वजनिक सूचना जारी गरेर तथा माइक गरेर पनि धेरै पटक भनिसकेका छौ ।‘

नियन्त्रणमा लिएर जरिवाना लगाउन सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्,’ नगर प्रहरीले सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै जरिवाना लगाउँछौ । हामीलाई कसैमाथि हातपात गर्ने अधिकार छैन । हातपात नगर्न पनि निर्देशन दिएका छौँ । यदि कसैले गरेमा त्यस्तालाई कारबाहीको दायरामा ल्याइन्छ ।‘

हेर्नुहोस् भिडियो

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x