Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

समाज

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन

बुवाकै पथमा हिँडिरहेका सौगात नयाँ पुस्ताका लागि उदाहरण बन्‍ने लयमा

व्यवसायीका समस्यालाई समाधान गर्न पहल गर्छु : सौगात

इकागज |
भदौ १३, २०८१ बिहीबार १८:५ बजे

काठमाडौँ- पोखरा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै छ । यतिखेर सबै जना आ-आफ्नो समूहको तर्फबाट मत माग्न हिँडिरहेका छन् । विगतको समितिमा भन्दा यस पटक चुनावी माहोल भिन्न देखिएको छ । युवा उम्मेदवारको अनुहार देखिन्छ । किनभने यसपटक संघलाई आर्थिक मन्दीले गिजोलिएको पोखरालाई सम्हाल्नु पर्ने भारी दायित्व छ ।

यहीँ जिम्मेवारीलाई काँधमा राख्न पोखराका युवा उम्मेदवार सौगात थापाले सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले भाद्र २८ र २९ गते हुने उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका हुन् ।


तर, यस पटक भने समितिमा सदस्यका लागि उम्मेदवारी दिएर उनले युवाको परिचय खोजिरहेका छन् । व्यावसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा पहिलो र दोस्रोबाट तेस्रो पुस्तामा नेतृत्व रुपान्तरण लागि परेका छन् ।

पवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनीत सदस्य भएका सौगात तेस्रो पुस्ताका विश्वासिलो र क्षमतावान् उम्मेदवार मानिन्छन् । सानै उमेरदेखि जिम्मेवारी सम्हालेका सौगात नयाँ पुस्ताका लागि उदाहरण बनेका छन् । उनी अहिले उठेका उम्मेदवारहरूमध्ये सबैभन्दा कम उमेरका खुला सदस्य पदको उम्मेदवारसमेत हुन् ।

उनले व्यवसायलाई परिमार्जन गर्दै र उच्च लगानीले समेत व्यावसायिक आकार र आयतनमा फेरबदल ल्याएका छन् । उनका अनुसार बगैँचा रिसोर्ट एण्ड स्पा रिनोभेसन हुँदैछ । बदलिँदो परिवेशमा संरचना बद्लिँदै गएका छन् ।

३१ एभिन्यु नाम दिएर बन्दै गरेको मिक्सिड युज बिल्डिङले पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालकै नमुना बिल्डिङमा होटल सँगै अन्य रिटेल सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ संघको निर्वाचनमा होमिएको उनी बताउँछन् । लेकसाइडको केन्द्रविन्दुमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको परिचय बद्लिएको छ ।

चिप्लेढुंगामा रहेको पोखरा टेर्डमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका उनले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रूप दिने बताए । उनका अनुसार अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ ।

‘अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको कम्पनीमा धेरै जना आश्रित छन्,’ उनले भने, ‘व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा अगाडि बढ्दै छु ।’

पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । युवाहरू सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरूको नेतृत्वदायी भूमिका देखिन्छ । तर थाहा राजनीतिमा भन्दा व्यवसायमा देखिने अनुहार बनिसकेको छ ।

तीनै युवा मध्येका थापा पनि युवाहरूको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघको निर्वाचनमा नेतृत्व लिन कस्सिएका छन् । उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरूलाई प्रवेश गराउने उद्देश्य रहेको उनले प्रस्ट पारे ।

उनले अगाडि थपे, ‘पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरूप अर्जुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरूप भएर अगाडि बढ्छ ।’

थापाका अनुसार वाणिज्य संघ अब युवाको नेतृत्वमा अगाडि बढ्नेछ । पोखरा उद्योग वाणिज्य संघको इतिहासमा नै पहिलो पटक तेस्रो पुस्ता कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको भेटिन्छ ।

२०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् ।

बुवाकै पथमा हिँडिरहेका उनी परिवर्तनमा विश्वास गर्छन् । उद्योग वाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनीहरूको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो ।

सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग वाणिज्य संघलाई नयाँ स्वरूप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग वाणिज्य संघ चल्नुपर्ने धारणा व्यक्त गरे ।
आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित सौगात अगाडि बढिरहेका छन् । उनको संघमा किन उम्मेदवारी भन्ने सवालमा भन्छन्, ‘सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग वाणिज्य बनाउँछ ।‘


Author

थप समाचार
x