Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

समाज

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

इकागज |
भदौ १३, २०८१ बिहीबार २०:१ बजे

फाइल तस्बिर

बैतडी- भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावर स्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने भएको हो । 

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।


बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । 

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रकम बराबरको क्षति भएको थियो । रासस


Author

थप समाचार
x