दुःखले नाचिरहेका छन् रातमा मान्छे नचाउनेहरू
‘पहिले नाचेरै साहूको भकारी भरियो, अहिले साहुले फर्केर हेरेनन्’
काठमाडौँ : डान्सबारमा नाचेर गुजारा गर्ने सीतालाई ‘धन सम्पत्ति हुने मान्छेहरू खुसी हुँदैनन्’ भन्ने भनाइ ठिकै लाग्छ । उनका लागि 'लिभिङ टुगेदर'मा बस्नु भनेको पैसा जोगाउनु हो । 'लिभिङ टुगेदर'मा बसेकी सीतालाई अहिले उनका साथीले छाडिसके । सीताका लागि कामविहीन हुनुको मतलब हो- पैसा नहुनु, बिहान बेलुकाको छाक टार्नै मुस्किल हुनु, कोठाभाडा तिर्न समस्या हुनु ।
निषेधाज्ञामा सीतालाई जागिरले पनि छाड्यो । अहिले उनी कामविहीन हुनुको मतलबसँग पैँठेजोरी खेलिरहेकी छन् । उनीसँग पैसा छैन । साह्रै भोक लाग्दा नजिकैको पसलबाट उधारोमा ल्याएको ब्रेड खाएर सुत्छिन् ।
नाम : सीता पोखरेल
वर्ष : ३२
काम : डान्सर
ठेगाना : पाल्पा
हाल : चाबहिल
डान्सबारमा ३० कटेका डान्सरलाई राम्रो मान्दैनन् । सीता भने ३२ वर्षकी भइन् । साहु, सहकर्मी र 'गेस्ट'लाई पनि ढाँट्छिन् । ‘जानेको काम त्यही एउटा कम्मर मर्काउने हो, अब अरु के गर्नु, कहाँ जानु ?,' उनी प्रश्न गर्छिन् ।
पोहोरको निषेधाज्ञामा सीताले 'लिभिङ टुगेदर'मा बस्ने साथी खोजेकी थिइन् । यसपटकको निषेधाज्ञामा तिनै साथीले पनि उनलाई छाडेर हिँडे । त्यस यता उनी अर्को साथीको खोजीमा छिन् । उनी भन्छिन्,‘भाडा तिरेको छैन, काम पनि छैन, सहयोग गर्ने मान्छे कोही छैनन् ।’
दश वर्षअघि जहाँ थिइन् सीताले आफूलाई अहिले पनि त्यहीँ भेट्छिन् । दुःख पर्दा कसैले हेर्दैनन् भन्ने निष्कर्ष उनको छ । ‘मैले जीवनभर नाचेर डान्सबारको साहुको भकारी भरिदिएँ, मलाई अप्ठेरो परेको बेलामा कुनै साहुले फर्केर पनि हेरेनन्’, उनी गुनासो गर्छिन् ।
०००
सबैलाई ‘नेपाली’ शब्द मन पर्छ । दोहोरी साँझमा काम गर्ने लक्ष्मीलाई ‘नेपाली शब्दमा गर्व गर्नु र कागलाई बेल पाक्नु’ एउटै लाग्छ । काठमाडौँ आउँदा हातमा पढेको सर्टिफिकेट थिएन । पढाइसँगै काठमाडौँमा उनका लागि अर्को समस्या थपियो, थर । लक्ष्मीको प्रश्न छ- ‘नेपाली हुँ भन्दा सबैले गर्व गर्छन्, नेपाली थरकी हुँ भन्दा किन मुख खुम्च्याउँछन् ?’
लक्ष्मीले थर ढाँटेर डेरा लगिन् । काठमाडौँमा टिक्नु थियो । त्यसका लागि काम खोज्न थालिन् । चिनेका मान्छेलाई भेटिन् । तर, काम भेटिनन् । घरबाट ल्याएको पैसा पनि सकियो । एक दिन लक्ष्मी कालीमाटीतिर हिँडिरहेकी थिइन् । त्यहाँ उनले दोहोरी साँझ देखिन् । उनले झट्टै गीत गाउने कला उनको दिमागका ठोकियो । त्यहाँ गएर उनले काम मागिन् । यसका लागि पनि उनले जात ढाँटिन् ।
नाम : लक्ष्मी नेपाली
वर्ष : ३०
काम : दोहोरी साँझ
ठेगाना : दैलेख
हाल : चाबहिल
जब लक्ष्मी नेपाली मेकअप गर्न थाल्थिन् मुलुक सुत्ने तरखरमा हुन्थ्यो । कार्यथलो पुगेपछि नेपाली पहिरनमा सजिएर स्टेज चढ्थिन् । दुई चार वटा दोहोरी गीत गाउँथिन् । कम्मर मर्काएझैँ गर्थिन् । दर्शकतिर माइक पनि तेर्स्यादिन्थिन् । पालो सकिएपछि स्टेजबाट ओर्लिन्थिन् । त्यसपछि ताली बज्थ्यो । स्वर मन पराएकाहरूले हातमा पाँच सय-हजारका नोट थमाइदिन्थे ।
लक्ष्मीले दोहोरी साँझमा गीत गाउँन थालेको ९ वर्ष भएछ । यतिबेलासम्म उनले राजधानीका सबैजसो डान्सबार र दोहारी साँझ आफ्नो कलाको छाप छोडिसकेकी रहिछन् । उनै लाक्ष्मी पछिल्लो तीन महिनादेखि कामविहीन छन् ।
दोहोरी साँझमा नेतादेखि देशकै ठूला व्यक्तिहरू आउँथे । तिनले लक्ष्मीको गीत साकिएपछि तारिफ गर्थे । चल्न खोज्थे, मात्तिन खोज्थे । कसैले नम्बर पनि थमाउथेँ । केही परे फोन गर्नू भन्थे । तर, निषेधाज्ञामा दोहोरी साँझ बन्द भएपछि समय उत्तानो पर्यो ।
जसले मदिराको तालमा ‘फोन गर है’ भन्थे, तिनैले फोन उठाउँदैनन् । उठाए पनि ‘चिन्नै सकिन’ भन्छन् । लक्ष्मीको निधारको छाला खुम्चिन्छ । उनी भित्तातिर हेर्दै भन्छिन्,‘एउटा सरलाई आफ्ना समस्या सुनाउन फोन गरेकी थिएँ, उहाँले उल्टै रेस्टुरेन्टमा नाचेको पैसा खै त ? भन्नुभयो ।’
लक्ष्मीलाई बालखैदेखि दोहोरी गायिका बन्न मन थियो । स्कुलमा साथीहरुले ‘तल्लो जातले पढ्ने’ भनेपछि उनलाई पढ्नै मन लागेन । त्यसैबेला बुवा यो संसारमा रहेनन् । परिवारकै ठूलै संकटमा पर्यो । त्यतिबेलै लक्ष्मीलाई परिवारका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । अनि उनी सुर्खेत आइन् र काठमाडौँको नाइट बस चढिन् ।
त्यसपछि नै हो लक्ष्मीको जीवन नयाँ अध्यायमा प्रवेश गरेको । एउटा दोहोरी साँझदेखि अर्को दोहोरी जम्प गर्दै उनले यो क्षेत्रमा नौ वर्ष बिताइन् । लक्ष्मीले डान्सबार, क्याबिन, दोहोरी, रोधीमा काम गर्दा नेता कार्यकर्तादेखि व्यसायीसम्मलाई भेट्टाएकी छन् । 'कलिलो शरीरको रस चुस्न खुट्टा ढोक्नेहरूले उनको फोन नै उठाउँदैनन्,' लक्ष्मी भन्छिन्,‘पहिलो वर्षकै कोठा भाडा तिरिसकेको छैन, अहिले झन् थुप्रो भयो, बचाएको पैसा खाएरै सकियो, चिनेकाहरूलाई फोन लगायो नचिनेको जस्तै गर्छन् ।’
सबैको समस्या उस्तै
निषेधाज्ञामा लक्ष्मी र सीताजस्ता हजारौँ मानिसहरू कामविहीन भएका छन् । कोभिडको डर नै छैन उनीहरूलाई । काम पाएर खर्च टरोस भन्ने नै उनीहरूका लागि ठूलो कुरा हो । कमाएको सबै पैसा सकिइसकेको छ । तर, भोक अझै कहिल्यै सकिने कुरा भएन । रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सुइँको पाएपछि पसलले पनि उधारोमा सामान दिन छाडेको गुनासो उनीहरूको छ । (यस सामग्रीमा प्रस्तुत पात्रको नाम परिवर्तन गरिएको छ )
पत्रकारितामा स्नातक अध्ययनरत बस्नेत इकागजका लागि प्रशिक्षार्थीका रूपमा कार्यरत छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया