समाज

बालेनले विस्थापित गर्न खोजेको भन्दै कवाडी व्यवासायीले भेटे प्रधानमन्त्री ओली

इकागज |
भदौ २०, २०८१ बिहीबार १९:५३ बजे

सांकेतिक तस्विर

काठमाडौँ- कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकर्षण गराएको हो ।

वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरू माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । महानगरले वातावरण फोहर गरेको, आगलागीका घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायलाई काठमाडौंबाट विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ ।


उनीहरुले महानगरले कवाड व्यवसायीमाथि गरिरहेको तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले संचालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार व्यवसायको दर्ता नवीकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरुको भनाइ छ ।

कानुन बमोजिम दर्ता नविकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नवीकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भईरहेको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने कवाड व्यवसायीहरूको माग छ ।


Author

थप समाचार
x