समाज

हुम्लामा सर्वदलीय संयन्त्र सक्रिय

इकागज |
भदौ २२, २०८१ शनिबार २०:५३ बजे

सिमकोट (हुम्ला)- हुम्लामा रहेका राष्ट्रिय मान्यता प्राप्त विभिन्न राजनीतिक दलको साझा सर्वदलीय संयन्त्र छ ।

अरु बेला आआफ्ना पार्टीका गतिविधिमा केन्द्रीत हुने नेताहरू विकास योजना र सामूहिक कार्यमा भने एकैठाउँमा बसेर छलफल गर्छन् । संयन्त्रको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्दै आएको छ ।


यसरी बस्ने बैठकमा जिल्लामा हुने विकास निर्माण, अनिमिततालगायत विषयवस्तुबारे छलफल तथा समीक्षा हुने गरेको छ । यही क्रममा आज पनि संयन्त्रको बैठक बस्यो ।

बैठकले जिल्लाको विकास निर्माण, सुशासनलगायत काममा समन्वय बढाउने, स्थानीय तहबाट भइरहेका विकास योजनाबारे जनप्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकाया, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष प्रकाशबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का सचिव धर्मराज बोहरा, राप्रपाका प्रतिनिधि नरेन्द्रबहादुर शाहीलगायतको उपस्थित रहेको थियो ।

 बैठकले हुम्लाको सुशासन र विकासका लागि प्रमुख जिल्ला अधिकारी र कार्यालय प्रमुखहरूसँग संयुक्त समन्वय बैठक गर्ने, स्थानीय सरकारबाट हुने गरेका सेवा प्रवाह, बजेट, योजना र विकास गतिविधिको समीक्षा तथा कार्यान्वयन योजनाबारे जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय भएको नेपाली कांग्रेसका उपसभापति रोकायाले जानकारी दिनुभयो । - रासस

 


Author

थप समाचार
x